बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बजारको व्यवस्था गर

शनिवार , फाल्गुण ६, २०७९

सिन्धुलीका किसानले उत्पादन गरेको वस्तुले बजार पाउन सकिरहेको छैन । उत्पादित वस्तु बजारीकरण गर्न समस्या भएपछि कृषकहरु हतोत्साहित भएका छन् । जिल्लाका केहि स्थानिय तहले उत्पादित वस्तुलाई कुँहिन नदिन र बेमौसममा समेत प्रयोग गर्न मिल्ने गरि शितभण्डार निर्माण गरेका छन् । मरिण गाउँपालिकाले त्यहाँ उत्पादित वस्तुको बजारीकरणकालागि ‘कृषि एम्बुलेन्स’ संचालन गरेको छ । जिल्लाका स्थानिय तहले कृषि क्षेत्रको विकास र उत्पादित वस्तुको प्रवद्र्धनकालागि पर्याप्त कार्यक्रमहरु ल्याउन सकिरहेको छैन । वर्षेनि कृषी क्षेत्रमा करोडौँको बजेट छुटाइएपनि कृषकलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम ल्याउन जिल्लाका नौवटैँ स्थानिय तह अपरिपक्व देखिएका छन् । तसर्थ, स्थानिय सरकारले यहाँ उत्पादित वस्तुको बजारीकरण गर्न आकर्षक कार्यक्रमहरु ल्याउन जरुरी छ । कृषकसँग प्रत्यक्ष जोडिएर उनीहरुले उत्पादन गरेका वस्तुलाई बजारीकरण गरि विचौलियाको हालिमुहालि अन्त्य गर्नतर्फ स्थानिय तह लगायत सरोकारवाला निकायले गम्भिर भएर आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

वर्षेनि सिन्धुलीबाट हजारौँ युवाहरु रोजगारीकालागि विदेशिने गरेका छन् । जिल्लामा करोडौँको कृषि वस्तु निर्यात हुने गर्दछ । पर्याप्त उर्वर भुमि, जनशक्ति र श्रोतसाधन हुदाहुदैँ पनि जिल्लामा कृषि पेशाप्रति युवाहरु आकर्षित हुन सकिरहेका छैनन् । पहुँवालाकालागि कृषि पेशा अनुदान पचाउने हतियार भएको छ भने वास्तविक किसानले अनुदान पाउनै मुश्किल छ । तसर्थ, कृषिमा देखिएको बेथितिको अन्त्य गर्नतर्फ सरोकारवाला निकायले चासो देखाउनुपर्दछ । अतः बजारको व्यवस्था, अनुदानमा अनियमिमता लगायत जिल्लामा कृषि क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्नतर्फ सम्बन्धित निकाय चनाखो हुन जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया