बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुली अस्पतालमा जनशक्तिको अभाव हुन नदेऊ

बुधवार , फाल्गुण ३, २०७९

जिल्ला अस्पताल सिन्धुलीको व्यवस्थापन पक्ष कमजोर देखिएको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा जनशक्ति नहुँदा बिरामीहरु उपचारनै नगरी फर्किनुपर्ने बाध्यता रहेको छ । केहि सातादेखि जिल्ला अस्पतालमा कार्यरत डाक्टरहरु बिदामा बस्दा बिरामीहरु अन्य जिल्ला धाउनुपरिरहेको छ । अस्पतालको व्यवस्थापन समितिले वैकल्पिक डाक्टरको व्यवस्था नगर्दा टाढाबाट आएका बिरामीहरुलाई सास्ती हुने गरेको छ । अस्पतालका डाक्टर बिदामा बसेको जानकारी नहुँदा घण्टौँ यात्रा गरेर अस्पताल आएका बिरामीको फजुल खर्च हुने गरेको छ । आर्थिक अवस्था सामान्य रहेकाले प्राइभेट मेडिकलमै उपचार गरेपनि गरिब तथा निमुखा बिरामीले रोग पाल्नु बाहेक अन्य उपाय छैन । जिल्ला अस्पतालमा दैनिक सय भन्दा बढि बिरामीहरु उपचारकालागि आउने गर्दछन् । अस्पतालको आम्दानी र खर्च पारदर्शी नभएको आरोप लाग्दै आएको छ । यता, अस्पतालले डाक्टरहरुलाई आकर्षक तलब दिन नसक्दा डाक्टरहरु सिन्धुली आउनै नचाहेको गुनासो पनि छ । तसर्थ, जिल्ला अस्पतालको व्यवस्थापन पक्षलाई बलियो बनाउन सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ ।

जिल्ला अस्पताल सिन्धुलीको सेवाप्रति सेवाग्राही सन्तुष्ट हुन सकिरहेका छैनन् । व्यवस्थापन समिति र अस्पताल प्रशासन कमजोर, अपारदर्शि र असक्षम हुँदा सेवाग्राहीले राज्यको सुविधा उपभोग गर्न पाईरहेका छैनन् । तसर्थ, जिल्लाका जनप्रतिनिधि, अस्पतालको व्यवस्थापन समिति, अस्पताल प्रशासन लगायत सरोकारवाला निकायले अस्पतालको सेवासुविधाको स्तरोन्नतिमा चासो देखाउन जरुरी छ । अस्पतालको व्यवस्थापनकालागि करारका कर्मचारी भर्ति गर्न हतार गर्ने अस्पतालले डाक्टर ल्याउन पनि विशेष जोड दिन आवश्यक छ । अतः जिल्ला अस्पताल सिन्धुलीमा देखिएको विकृति र कमजोरीलाई सच्चाउन तर्फ सम्बन्धित निकाय चनाखो हुनुपर्दछ ।

प्रतिक्रिया