बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा भ्रष्टाचारप्रति शुन्य सहिष्णुता अपनाऔँ

आइतवार , माघ २९, २०७९

सिन्धुलीमा स्थानिय तह, सरकारी कार्यालय र सार्वजनिक संस्थामा आर्थिक अनियमिमता बढिरहेको नागरिक अगुवाले गुनासो गरेका छन् । जिल्लाका केहि स्थानिय तह, सरकारी कार्यालय र सार्वजनिक संस्थाले सार्वजनिक खरिद ऐन, २०६३ विपरित क्रियाकलाप गर्दै आइरहेको आरोप लाग्ने गरेको छ । अर्धवार्षिक प्रगति प्रतिवेदनको अध्ययन गर्दा जिल्लाका स्थानिय तहमा फजुल खर्च बढेको छ । जिल्लाका स्थानिय तहमा छ महिनाको अवधिमा झण्डै एक करोड बढि रुपैँयाको पेट्रोलियम पदार्थ प्रयोग गरिएको छ । स्थानिय तहले विपद्को समयमा डोजर लगायतका साधनहरु प्रयोग हुने हुँदा धेरै पेट्रोलियम पदार्थ खपत भएको बताएपनि कार्यकर्तालाई तेल वितरण गरिएको आरोप लाग्दै आएको छ ।

त्यस्तै, जिल्लाका स्थानिय तह र सरकारी कार्यालयले विज्ञापन शिर्षकमा करोडौँ खर्च गरिसकेका छन् । स्थानिय तह र सरकारी कार्यालयको प्रमुख, लेखा अधिकृत लगायतले कमिशनमा र्‍याल चुहाउँदा फुजल खर्च बढेको हो । त्यसैगरि, टेण्डरबाट गरिने काममा समेत आर्थिक अनियमितता बढेको व्यवसायीले गुनासो गरेका छन् । ठेक्का खुलाउँदा आफू निकटका व्यवसायीलाई फाईदा पुग्ने गरि ‘स्पेसिफिकेसन’ तयार गरिएको समेत फेला परेको छ । टेण्डर मार्फत लगाईने काममा थोरै व्यवसायीबिच प्रतिस्पर्धा गराउन विभिन्न तिक्डम लगाउने गरिएको छ । यतिमात्र नभएर सरकारी कार्यालय र स्थानिय तहले वितरण गर्ने अनुदान आफु अनुकुलका मान्छेलाई दिइएको भन्दै सर्वसाधरणले विरोध गर्दै आएका छन् । तसर्थ, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने अख्तियार दुरुपयोग अनुसन्धान जिल्ला समन्यव समितिले आर्थिक अनियमितताको गन्ध कतै देखिए तत्काल अनुसन्धान गर्नतर्फ जोड दिनुपर्दछ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लामा रहेको नौँवटै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतलाई छलफलमा बोलाई भ्रष्टाचारविरुद्ध निर्मम हुन निर्देशन दिन जरुरी छ । त्यस्तै, स्थानिय तहमा राजनैतिक दलले प्रतिपक्षको भुमिका निर्वाह गर्दै गलत प्रवृद्धि विरुद्ध आवाज उठाउन सक्नुपर्दछ । अतः भ्रष्टाचारप्रति शुन्य सहिष्णुता अपनाईँ जिल्लामा सुशासन कायम गर्नतर्फ जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया