बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

उपभोक्ताहरु प्रति जवाफदेही नेतृत्व निर्माण गरौं

शनिवार , पौष ३०, २०७९

जब सामाजिक संघ संस्थामा जवाफदेहिता र पारदर्शीताको बिकास हुँन्छ तब मात्र संघ संस्थाहरु नागरिक प्रति जवाफदेहि र उत्तरदायी बन्न सक्छन । आज शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैटौं साधारणसभा तथा अधिवेशन सम्पनन् हुन लागीरहेको छ । कमलामाई नगरपालिका वडा नं.४,५,६ र ७ नं वडाको उपभोक्ताहरुलाई खानेपानी वितरणको कार्य गर्न २०५४ सालबाट स्थापना भई सुद्ध खानेपानी र सरसफाई प्रबद्र्धनको कार्य गरिरहेको शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हाल सम्म सिन्धुलीमाढी बजारमा ३ हजार ४ सय ७० उपभोक्ताहरुलाई खानेपानी वितरणको काम गरिरहेको छ । सरकारको अनुदान तथा एसियाली विकास बैंकको ऋण मार्फत करोडौंका आयोजनाहरु सञ्चालन मार्फत उपभोक्ताहरुको घरघरमा पानि पुर्याउने अभियानमा सक्रिय रहेको संस्थाको नयाँ नेतृत्वका लागी हुने अधिवेशनले विशेष अर्थ र महत्व राख्ने छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै गर्दा नयाँ नेतृत्वसँग चुनौती र अवसर दुवै रहेको छ । बढ्दो सहरिकरणलाई मध्यनजर गर्दै शुद्ध खानेपानीको ब्यवस्थापन गर्नुपर्ने चुनौती त छदैछ भने पुराना तथा नयाँ आयोजनाहरुलाई पारदर्शि ढंगबाट सञ्चालन गर्दै न्यायोचित वितरण प्रणाली मार्फत चुहावटलाई नियन्त्रण गर्दै उपभोक्ताहरुलाई पानि वितरण गर्नुपर्ने मुल दायीत्व पनि रहेको छ । नेतृत्व केवल पदका लागी हैन कामका लागी हो भन्ने कुरा ब्यवाहारबाटै पुष्टी गर्नुपर्ने चुनौती एकातिर छ भने आन्तरिक हिसाबले ऋणमा रहेको संस्थालाई आम्दानी गर्दै ऋणमुक्त गर्नुपर्ने आर्थिक चुनौती पनि रहेको छ । पानी मानव जीवनको लागी अपरिहार्य तत्व हो । मानिस बिहान उठेदेखि नसुतिन्जेल सम्म पानीको प्रयोग गर्दछ । पानी बिनाको जीवन कल्पना पनि गर्न नसकिने भएकाले पानीको ठुलो महत्व छ ।

हाम्रो देश जलस्रोतमा ब्राजिल पछिको दोस्रो ठुलो धनि राष्ट्र हो । यहा जलविद्युत उत्पादन क्षमतापनि ८३००० मेघावाट रहेको छ । जलस्रोेतमा धनि राष्ट्रभएता पनि यसको सहि परिचालन गर्न नसकेकोले नेपाल एक अविकसित देशको रुपमा चिनिन्छ । हाम्रो देश नेपालमा करिब ६००० नदिनालाहरु छन् तर यसको उचित रुपमा परिचालन हुन सकेको छैन । प्राविधिक ज्ञानको कमी, जनशक्तिको अभाव, पुजीँको अभावआदिको कारणले गर्दा जलसम्पदाको उचित परिचालन गर्न सकेको छैन । देशका कतिपय मानिसहरु शुद्ध खानेपानी खान नपाएर अकालमै मर्न बाध्य भएका छन् । शुद्ध खानेपानीको अभावमा विभिन्न किसिमका रोगहरुले धेरै मानिसहरुलाई ग्रसित पारेका छन् । देशमा शुद्ध खानेपानीको अभावको कारण शैजा, जेन्डिस जस्ता रोगहरु फैलन्छन् । युनिसेफको तथ्यांक अनुसार नेपालको १ करोड ८ लाख जनसंख्यासँग उपयुक्त सरसफाईको सुविधा छैन र ३५ लाखसँग आधारभुत खानेपानी सुविधा छैन । खानेपानीको गुणस्तर र वितरण प्रणाली कमजोर रहेको छ ।

खानेपानी जस्तो अतिसंवेदनशिल संस्थाको नेतृत्व निर्माणमा सबै उपभोक्ताहरुले विशेष ध्यान दिन जरुरी छ । उपभोक्ताहरुका समस्या प्रति जवाफदेहि ढंगले प्रस्तुत हुन सक्ने नेतृत्व संस्थाको लागी आवश्यक रहेको छ । नेतृत्वमा जोश, जागर र उत्साह भयो भने मात्र संस्थाको विकास हुन सक्छ । संस्थाप्रति प्रतिबद्ध उपभोक्ता प्रति जवाफदेहि र योजनामा जनअपेक्षा अनुसार आफु र आफ्नो टिमलाई सञ्चालन गर्न सक्ने नेतृत्व संस्थाको लागी आवश्यक छ । उपभोक्ताहरुको अति संवेदनशिल विषय स्वास्थ्यसँग जोडिएको खानेपानी संस्थामा राजनीतिकरण हुनबाट जोगाउँदै कुशलतापुर्वक उपभोक्ताप्रति जवाफदेहि र जिम्मेवार भएर नेतृत्व गर्ने सक्ने सक्षम ब्यक्तिलाई नेतृत्व प्रदान गर्दै स्वच्छ खानेपानी पाउने नागरिकको अधिकारलाई ग्यारेन्टी गरौं ।

 

प्रतिक्रिया