सिन्धुलीमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको नतिजा आउने क्रम जारी छ । क्षेत्र नम्बर १ को बाहेक चारवटै प्रदेशसभा र एक प्रतिनिधिसभाको चुनावि नतिजा आइसकेको छ । जिल्लाको सबै क्षेत्रमा गठबन्धन विजयी हुने निश्चित देखिन्छ । चुनावि नतिजा आएसँगै उम्मेदवार भन्दा पनि उम्मेदवारका आसेपासेको कुविचार र कुसंस्कार सामाजिक संजाल लगायत अन्य ठाउँहरुमा छरपस्ट देखिएको छ । प्रतिद्वन्दिलाई सराप्ने, कुतर्कसहित होच्याउने र निर्वाचित प्रतिनिधिको अघि आफू राम्रो हुन खोज्ने प्रवृद्धि केहि दिन यथा देखिदैँ आएको छ । आफू निकटको उम्मेदवारले चुनाव जितेपछि आफूनै राजा भएको जस्तो व्यवहार देखाउने स्वार्थी कार्यकर्तालाई जनप्रतिनिधिले प्रशिक्षण दिन जरुरी छ । त्यसैगरि, जनप्रतिनिधिले पनि आफूनै सबैथोक हो भन्ने घमण्ड त्याग्न आवश्यक छ । आसेपासे शिक्षित र संस्कारी नहुँदा ठूला ठूला हस्तिहरु पछारिएको दृश्य विगतमा पनि देखिएको छ । त्यसैले, जनप्रतिनिधिहरु संस्कारी, राजनैतिक चेत भएका र स्वार्थरहित कार्यकर्ताको आसपासमा रमाउन जरुरी छ । आफूलाई फाईदा नहुँदा आफ्नै परिवारको खेदो खन्ने र फाईदा भएपछि दुष्मनलाई पनि अंगालो हाल्दै अघि बढ्ने प्रवृद्धिका मान्छेलाई जनप्रतिनिधिले पहिचान गर्नुपर्दछ । अन्यथा, स्वार्थी समुहको रजगजले समाजको हित हुदैँन । स्वार्थी समुहमात्र लाभान्वित हुनेछन् ।
सिन्धुलीमा चुनावि नतिजा आएपछि केहि अराजक गतिविधिहरु पनि देखियो । कमलामाईवासि मस्त सुतिरको अवस्थामा ध्वनि प्रदुषण गर्दै ब्युझाउँने र तर्साउने काम पनि भएको छ जसको विरोध कमलावासिले गरेका छन् । तसर्थ, आफू नजिकका कार्यकर्ताको राजनैतिक चेत वृद्धि गर्न र सामाजिक बनाउनतर्फ जनप्रतिनिधिले विशेष जोड दिन आवश्यक छ ।