सिन्धुली– सत्ता गठबन्धनबिच सिन्धुलीको प्रतिनिधिसभा क्षेत्रकालागि सिट बाँडबाँड टुंगि सकेको छ । क्षेत्र नम्बर १ नेपाली कांग्रेसले पाएको छ भने क्षेत्र नम्बर २ माओवादी केन्द्रको पोल्टोमा परेको छ । आगामी मंसिर ४ गते एकैसाथ हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको चुनावकालागि सिफारिसमा परेका उम्मेदवारले टिकट पाउनकालागि केन्द्रमा जोडबल गरिरहेका छन् । यता, क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट सिफारिशमा परेका उम्मेदवारहरुले टिकट पाउनकालागि आन्तरिक विवाद सामाजिक संजालमा छताछुल्ल पारेका छन् ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट सिफारिशमा परेका उज्वलप्रसाद बराल, मोहनप्रसाद बराल, कृष्णमुरारी गुरुङ, प्रेमचन्द्र दाहाल र प्रेमप्रसाद भट्टराईले संयुक्त रुपमा पार्टीका सभापति, केन्द्रिय कार्यसमिति तथा संसदिय समितिमा बुझाएको ज्ञापनपत्र सामाजिक संजालमा छताछुल्ल भएको हो । सिफारिसमा परेका पाँच भाईले केन्द्रिय सदस्य श्याम घिमिरेलाई टिकट दिए जिताउन नसकिने भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ । पाँच महासमिति सदस्यद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा घिमिरे नेपाली कांग्रेस पार्टी पंक्ति र जनाधारमा अत्यन्तै अलोकप्रिय र कमजोर भएको उल्लेख गरिएको छ । जबकि, गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको चुनावमा नेपाली कांग्रेस सिन्धुलीका पुर्वसभापति उज्जवलप्रसाद बराल र पुर्वसांसद मोहनप्रसाद बरालकै वडामा कांग्रेसले पराजय भोग्नु परेको थियो । सिन्धुलीको कमलामाई नगरपालिका १३ नम्बर वडा बरालद्वयको गृह वडा हो । जिल्लाकै शिर्ष नेतामा गनिने बरालद्वयले आफ्नै वडामा पार्टीका उम्मेदवारलाई जिताउन नसक्नुमा बरालद्वयको अलोकप्रियता वा पार्टीभित्र घात, प्रतिघात र असहयोग हुनसक्ने एक नेताले बताए ।
२०७४ को स्थानिय तहको चुनावमा समेत जिल्लाकै पार्टीको नेतृत्वबाट असहयोग र घात हुँदा कमलामाई नगरपालिकामा कांग्रेसले पराजय भोग्नुपरेको पार्टीभित्र हल्ला चलेको थियो । आफूले रुचाएको उम्मेदवारलाई नेतृत्वमा पु¥याउन र आफूलाई मन नपरेका नेतालाई वारकि पार लगाउन जुनैसुकै हद पार गर्ने प्रवृद्धि भएकाले जिल्लाको पार्टी सभापतिमा उज्जवल बरालले पराजय व्यहोरेको एक नेताले बताए । गत वैशाख ३० गतेको स्थानिय तहको चुनावपछि दुधौली नगरपालिका २ नम्बर वडामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेलाई पार्टीकै कार्यकर्ताले कालोमोसो दलेका थिए । घिमिरेलाई अलोकप्रिय देखाउन कार्यकर्ता उकासेर सो कार्य गरिएको ती नेताले बताए ।
राजनितिका पुराना खेलाडीले नै घरभित्रको समस्या बाहिर ल्याएर जग हसाँएको अर्को एक नेताले बताए । घरभित्रको समस्या घरमै समाधान नगरि सामाजिक संजालमा छरपस्ट पार्दा पार्टी कमजोर हुने ती नेताले बताए । पार्टीभित्रको समस्याको ‘बिफ्रिङ’ नेतृत्वसामु गर्नुृ स्वभाविक भएपनि समाजिक संजालमै प्रदर्शन गर्दा आगामी चुनावमा कांग्रेसलाई धक्का पुग्ने ती नेताको निश्कर्ष छ ।
