सिन्धुलीमा तीन तहको सरकारबाट वर्षेनि करोडौँको योजनाहरुमा लगानी हुन्छ । जिल्लाका स्थानिय तहमा निर्माणाधिन अवस्थामा विभिन्न योजनाहरु छन् । निर्माणाधिन अवस्थामा रहेका ती योजनाहरुप्रति नागरिकको धेरै गुनासो हुने गर्दछ । अनुगमन गर्नुपर्ने कर्तव्य स्थानिय तहकोे भएपनि केहि स्थानिय तह आफ्नै कर्तव्यबाट पन्छिएको अवस्था छ । स्थानिय तह आफ्नो कर्तव्यबाट विमुख भएपछि निर्माणमा गुणस्तरहिन काम भइरहको छ । राज्यले दिएको अधिकार पालनामा कञ्जुस्याई हुँदा जनप्रतिनिधिप्रति नागरिकको विश्वास घटेको अवस्था छ । स्थानिय तहमा साना तथा ठूला योजनाहरु धमाधम निर्माणको चरणमा छन् । केहि स्थानिय तहले अनुगमनलाई तिव्रता पनि दिएको छ । गुणस्तरहिन काम हुदाँ भुक्तानि देखि अन्य सेवासुविधाबाट समेत उपभोक्ता समिति र ठेकेदार कम्पनिलाई वञ्चित गरिएको छ ।
स्टमेट अनुसार काम नहुदाँ जिम्मेवार निकायले सजग गराउने हो भने गुणस्तरीय काम गर्न बाध्यात्मक अवस्था सिर्जना हुन्छ । तर, ठेकेदारसँग नजिकिने, उपभोक्ता समिति बनाउँदा आफ्नै मान्छे भर्ति गर्ने प्रवृद्धिले गुणस्तरहिन कामलाई बढावा दिएको छ । तसर्थ, जिम्मेवार निकायले आफ्नो कर्तव्य नबिर्सि गुणस्तरीय निर्माण कसरी गर्न सकिन्छ भन्नेतर्फ विचार पुर्याउनुपर्छ । योजना अनुगमनमा मापदण्ड अनुसार काम भए नभएको निगरानि गर्न आवश्यक जशक्तिको परिचालन गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । त्यसैगरि, निर्माणको काम सन्तोषजनक नभए आवश्यक कार्वाही गर्नपनि जिम्मेवार निकाय चुक्नुहुँदैन ।
निर्माणाधिन योजनाप्रति नागरिकको असन्तुष्टि चुलिदैँ गएको छ । यतिमात्र नभएर आवश्यक सामाग्रीको प्रयोग नै नगरि कामहरु भइरहेको छ । तसर्थ, प्राविधिकसँगको सहकार्यमा अनुगमनलाई तिव्रता दिन स्थानिय तहले विशेष जोड दिन जरुरी छ । राज्यको सम्पत्ति दुरुपयोग हुन नदिन अधिकारप्राप्त निकायले आफ्नो कर्तव्यको पालन गर्नुपर्दछ । अतः राज्यको लगानी बालुवामा पानी हाले सरह हुन नदिन जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ ।