काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् ।
गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ । छलफलमा सहभागी नेताहरुका अनुसार निर्वाचन क्षेत्रगत रुपमा छलफल गर्दै जाँदा धेरै जसो ठाउँमा कुरा मिलेको देखिन्छ । तर जब दलले पाउने कुल सिट संख्याको कुरा आउँछ, फेरि हिसाब बिग्रिन्छ ।
“काँग्रेस ९० बाट तल झर्न तयार भएको छैन, माओवादीले ५० भन्दा तल जाने कल्पना गरेको छैन । एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि २० सिटभन्दा तल जान तयार छैनन”, कार्यदलका एक नेता भन्छन्, “नमिलेका त्यही १५÷२० सिटमा हो ।”
कार्यदलका सदस्यहरुका अनुसार अहिलेसम्म पाँचै दल गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् र अब समानुपातिकको बन्दसूची तयार भएपछि फेरि सिट बाँडफाँटबारे सहमति खोजिने छ ।
कहाँ टुंगियो ? कहाँ बाँकी ?
विभिन्न दलबाट सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा कुन दलले लिने भन्नेमा सहमति जुटिसकेको छ ।
दलहरुको एउटा मात्र दावी परेको वा छलफलका क्रममा अर्को दल छाड्न तयार भएको क्षेत्र हिसाब गर्दा काँग्रेसको भागमा ६८ क्षेत्र परिसकेको छ । माओवादी केन्द्रको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भागमा ७ सिट सुनिश्चित भएको छ । गठबन्धनको पाँचौं दल राष्ट्रिय जनमोर्चाले मागअनुसार प्रतिनिधिसभाको दुई क्षेत्र पाउने पक्का जस्तै भएको छ ।
कार्यदल र शीर्ष तहमा भएको छलफलअनुसार ताप्लेजुङ कसले लिने भन्ने टुंगिएको छैन । पाँचथर काँग्रेसले लिनेछ भने इलाम–१ एकीकृत समाजवादी र २ काँग्रेसले लिने छ ।
संखुवासभा र तेह्रथुम काँग्रेसले लिनेछ भने भोजपुर माओवादी केन्द्रले पाउने पक्काजस्तै छ । धनकुटामा काँग्रेस र जसपाको दाबी छ । यद्यपि काँग्रेस नेताहरु धनकुटा छाड्न सक्ने अवस्था नभएको बताउँछन् । सोलुखुम्बु र खोटाङमा काँग्रेस र माओवादी दुबै दलको दाबी छ भने ओखलढुंगा काँग्रेसलाई छाड्न दलहरु तयार छन् । उदयपुर १ काँग्रेस र २ माओवादीले लिनेछ ।
झापाको १, ३ र ४ काँग्रेसले लिनेछ । २ मा काँग्रेस र माओवादी दुबै दलको दाबी छ भने ५ माओवादीलाई छाड्न काँग्रेस तयार छ । मोरङको १, २, ३ र ६ काँग्रेसले लिने पक्का भएको छ । माओवादीले ४ र ५ मा दाबी गरेको छ भने जसपाले क्षेत्र नम्बर ५ कुनै हालतमा छाड्न नसकिने अडान लिएको छ ।
काँग्रेस नेताहरुले पनि मोरङ–४ र ५ मध्ये एउटा आफ्नो दललाई दिनुपर्ने बताएका छन् । सुनसरीको १ जसपालाई दिन अरु दल सहमत भएका छन् भने २, ३ र ४ काँग्रेसले लिने छ । नेताहरुका अनुसार सिट बाँडफाँटमा सबभन्दा गाह्रो प्रदेश २ का जिल्लामा देखिएको छ । कतिपय क्षेत्रमा तीन दलकै दाबी कायम छ, जसले गर्दा सहमति जुटेको छैन ।
सप्तरीको १ मा काँग्रेस र जसपाको दाबी छ भने २ र ३ जसपा तथा ४ काँग्रेसले लिने सहमति भएको छ । सिरहा १ मा काँग्रेस र ४ मा जसपालाई दिन दलहरु सहमत छन् २ मा काँग्रेस, जसपा र एकीकृत समाजवादी तथा ३ मा काँग्रेस, माओवादी र जसपाको दाबी छ ।
धनुषाको १ मा माओवादी र जसपा, २ र ३ मा काँग्रेस र जसपा दुबैको दाबी छ भने ४ काँग्रेसलाई छाड्न दलहरु सहमत छन् । यसैगरी महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी, २ मा काँग्रेस, ३ र ४ जसपाको भागमा पर्ने पक्काजस्तै भएको छ । सर्लाहीको १ मा जसपा र काँग्रेस, २ मा काँग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा माओवादी र काँग्रेसको दावी छ ।
रौतहटको क्षेत्र नम्बर १ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छाड्न सबै दल सहमत छन् भने क्षेत्र नम्बर ४ मा काँग्रेसको मात्र दाबी छ । बाँकी २ क्षेत्रमा भने तीन–तीन दलको दाबी छ । २ मा काँग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा काँग्रेस, एकीकृत समाजवादी र माओवादीको दाबी छ ।
बारा क्षेत्र नम्बर १ काँग्रेस, २ जसपाले लिने सहमति भएको छ । ३ मा काँग्रेस र जसपा तथा ४ मा माओवादीसँगै एकीकृत समाजवादी र जसपाको पनि दाबी छ । पर्सामा कुनै सहमति जुटेको छैन । काँग्रेसले १, २ र ४ मा दाबी गरेको छ भने जसपाले ४ वटै क्षेत्रमा दाबी गरेको छ । माओवादी र एकीकृत समाजवादीका नेताहरुले भने एक–एक सिट आफ्नो दलले पाउनुपर्ने मत राखेका छन् ।
बाग्मती प्रदेशका धेरै जिल्लामा सहमति जुटेको छ । काठमाडौंको क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० मा काँग्रेसको मात्र दाबी छ भने ७ जसपा र ८ एकीकृत समाजवादीलाई छाड्न अरु दल सहमत भएका छन् । २ मा काँग्रेससँगै माओवादीको दाबी छ भने ९ मा काँग्रेस, माओवादी र एकीकृत समाजवादीको दाबी छ ।
भक्तपुरको दुबै क्षेत्र काँग्रेसले पाउने निश्चित जस्तै भएको छ भने ललितपुरको १ काँग्रेस र ३ माओवादीले लिनेछ । २ मा भने काँग्रेस र एकीकृत समाजवादीको दाबी छ ।
काभ्रे र सिन्धुपाल्चोक दुबैमा क्षेत्र नम्बर १ माओवादीले लिनेछ भने २ काँग्रेसको भागमा परेको छ । मकवानपुरमा काँग्रेस र एकीकृत समाजवादीले १–१ सिट लिने सहमति भएको छ । रसुवा काँग्रेसको भागमा परेको छ भने धादिङ क्षेत्र नम्बर १ मा माओवादी र एकीकृत समाजवादीको र २ मा काँग्रेसको मात्र दावी छ ।
नुवाकोटको क्षेत्र नम्बर १ माओवादी र २ मा काँग्रेसको मात्र दाबी छ । तर प्रधानमन्त्रीसमेत रहनु भएका काँग्रेस सभापति शेरबहादुर देउवाले भने प्रवक्ता डा. प्रकाशशरण महतलाई १ मा उम्मेदवार बनाउन चाहेकाले २ लिन माओवादी नेताहरुलाई भन्नु भएको छ ।
सिन्धुलीको १ काँग्रेस र २ माओवादीले लिने छ भने दोलखा र रापेछापमध्ये १–१ वटा माओवादी र काँग्रेसले लिनेछ । चितवनको १ मा काँग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ काँग्रेसले लिनेछ भने क्षेत्र नम्बर ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्न सबै दल एकमत छन् ।
कास्कीको तीनवटै क्षेत्रमा काँग्रेसको दाबी छ । क्षेत्र नम्बर १ काँग्रेसले पाउने पक्काजस्तै भएको छ भने २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रको पनि दाबी छ । कार्यदलका एक सदस्यका अनुसार कास्कीमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक क्षेत्र लिने सम्भावना बढी छ ।तनहुँ र स्याङ्जाको (१ र २) दुबै क्षेत्र काँग्रेसले पाउने छ भने मुस्ताङ, मनाङ, म्याग्दी र पर्वत काँग्रेसले लिने छ भने लमजुङ माओवादी केन्द्रले पाउने छ ।
बाग्लुङको १ राष्ट्रिय जनमोर्चा र २ माओवादी केन्द्रले लिने छ । गोरखाको दुबै क्षेत्रमा माओवादीको दाबी छ, तर काँग्रेस भने एउटा क्षेत्र आफूले पाउनुपर्ने अडानमा छ । नवलपरासी पूर्व १ मा काँग्रेसको मात्र दाबी छ भने २ मा काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्र गरी तीन दलको दाबी छ ।
रुपन्देहीको १ मा काँग्रेस, जसपा र एकीकृत समाजवादीको दाबी छ भने २ मा काँग्रेस र एकीकृत समाजवादीको । बाँकी ३, ४ र ५ मा काँग्रेसलाई छाड्न अरु दल सहमत भएका छन् । कपिलवस्तुको १ माओवादी केन्द्रले लिनेछ भने २ र ३ काँग्रेसको भागमा परेको छ ।
अर्घाखाँची काँग्रेसको भागमा परेको छ भने पाल्पाको २ क्षेत्रमध्ये काँग्रेस र एकीकृत समावादीले १–१ वटा लिनेछ । काँग्रेस नेताहरुले १ एकीकृत समाजवादीलाई दिएर २ लिन चाहेका छन् । तर माधवकुमार नेपालले आफ्ना सम्धीसमेत रहेका सोमप्रसाद पाण्डेलाई क्षेत्र नम्बर २ मा नै निरन्तरता दिन चाहेकाले सहमति जुटेको छैन ।
गुल्मीको १ काँग्रेसले लिनेछ भने २ एकीकृत समावादीलाई छाड्न गठबन्धनका दलहरु सहमत भएका छन् ।प्युठान राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई छाड्न गठबन्धनमा दलहरु सहमत भएका छन् । रुकुम पूर्व र रोल्पा माओवादी केन्द्रको भागमा परेको छ भने दाङको १ एकीकृत समाजवादी, २ माओवादी र ३ काँग्रेसको भागमा परेको छ ।
बाँकेको क्षेत्र नम्बर १ माओवादी, २ जसपा र ३ काँग्रेसले लिने छन् भने बर्दियाको १ काँग्रेस र २ माओवादीको भागमा पर्ने लगभग टुंगिएको छ । नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा काँग्रेस, माओवादी र जसपाको दाबी छ भने २ काँग्रेसलाई छाड्न सत्तारुढ गठबन्धनका दलहरु सहमत देखिएका छन् ।
कर्णाली प्रदेशका धेरै जिल्लाको सिट बाँडफाँट टुंगिएको छ । सुर्खेतको दुबै क्षेत्र काँग्रेसको भागमा परेको छ भने सल्यान र डोल्पा एकीकृत समाजवादीले दिने छ । रुकुम पश्चिम, जाजरकोट, हुम्ला, कालीकोट माओवादी केन्द्रले पाउने लगभग पक्का भएको छ । मुगुमा काँग्रेस एकीकृत समाजवादी र माओवादीको दाबी छ भने जुम्लामा काँग्रेस र माओवादीको ।
दैलेखको १ मा काँग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ काँग्रेसले पाउने निश्चित जस्तै छ । डडेलधुरामा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्न सबै दल सहमत छन् । यस्तै कैलालीको क्षेत्र नम्बर ५ प्रधानमन्त्री पत्नी आरजु देउवालाई छाड्न अरु दल सहमत छन् । अरु चार क्षेत्रबारे भने छलफल नभएको कार्यदलका सदस्यहरु बताउँछन् ।
कञ्चनपुरको १ माओवादीले लिनेछ भने २ र ३ काँग्रेसको भागमा परेको छ । वैतडीमा काँग्रेस र माओवादीको दाबी छ भने डोटीमा काँग्रेस र एकीकृत समाजवादीको । अछाम क्षेत्र नम्बर १ मा काँग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ काँग्रेसले लिनेछ । बाजुरा र दार्चुला काँग्रेसले लिने छ भने बझाङमा काँग्रेस र एकीकृत समाजवादीको दाबी रहेको कार्यदलका सदस्यहरु बताउँछन् ।