बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीको तटबन्धनको अनुगमन गर

सोमवार , भाद्र २७, २०७९

सिन्धुलीमा तटबन्धन निर्माणकालागि वर्षेनि तीनै तहको सरकारबाट करोडौँ बजेट निकासा हुने गर्दछ । जिल्लाहुँदै बग्ने कमला खोला, सुनकोशी लगायत स–साना खोला र खहरेका कारण वर्षेनि सयौँ बिगा खेतियोग्य जमिन बगरमा परिणत भइरहेको छ । राज्यले खोला नियन्त्रणकालाई प्राथमिकतामा राखेर करोडौँ लगानी गरेपनि प्रभावकारी काम नहुँदा समस्याको दिर्घकालिन समाधान हुन सकिरहेको छैन । एक आर्थिक वर्षमा निर्माण गरिएको तटबन्धन अर्को वर्षमा भत्किएको वा बगाएको देख्न सकिन्छ ।

तर, राज्यको संयन्त्र यसतर्फ जवाफदेहि बन्न सकेको छैन । प्राकृतिक प्रकोपले तटबन्धन भत्किनु स्वभाविक हो । तर, अनुसन्धाननै नगरि बजेट सकाउन मात्र निर्माण हुने तटबन्धनले राज्यको ढुकुटि रितिएको छ । सिन्धुलीको दुधौली, कमलामाई, मरिण लगायत अधिकांश स्थानिय तहमा तटबन्धन निर्माणकालागि स्थानिय सरकारले प्राथमिकता दिइरहेको छ । तर, दिगो निर्माण नहुँदा राज्यको लगानी बालुवामा पानी हाले सरह भइरहेको स्थानियले गुनासो गरेका छन् ।

जिल्लाका केहि स्थानमा निजि जग्गालाई खोला वा खहरेबाट बचाउन राज्यको लगानी पोखिएको छ । तटबन्धन निर्माणकालागि उचित स्थानको खोजि नहुँदा दिर्घकालिन समाधान हुन सकिरहेको छैन । तसर्थ, तटबन्धन निर्माणकालागि दिर्घकालिन योजना बनाएर अघि बढ्न राज्यको संयन्त्र गम्भिर हुन आवश्यक छ । नागरिकको समस्या देखाएर बजेट ल्याउने तर बजेटको सदुपयोग नहुने हो भने नागरिकमा चरम निराशा थपिने छ । अतः तटबन्धन निर्माणको अनुमगन र स्थान पहिचान गरि निर्माण कार्य अघि बढाउन सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया