सिन्धुलीका संचारगृहलाई सरकारी कार्यालय, सार्वजनिक संस्था र नागरिकले प्रत्यक्ष सरोकार राख्ने कार्यालयबाट सूचना लिनै सकस हुने गरेको गुनासो बढ्दो छ । हरेक सरकारी कार्यालयमा सूचना अधिकारीको दरबन्दि हुने गर्दछ । तर, सूचना अधिकारीले सूचना दिनकालागि कञ्जुस्याईँ गरिरहेका छन् । स्थानिय तहका प्रशासकिय अधिकृतले फोन नउठाउने लगायत सरकारी कार्यालयमा सूचना दिन राखिएका कर्मचारीले नागरिकले प्रत्यक्ष सरोकार राख्ने विषयमा समेत मौन बस्ने गरेका छन् ।
सूचनाको हक पत्रकारलाई मात्र नभई आमव्यक्ति तथा नागरिकलाई प्राप्त हुने हक हो । सार्वजनिक क्षेत्रमा हुने गैरकानुनी, अनुचित र कानुनविपरीतका कार्यविरुद्ध सामूहिक विरोध, प्रतिरोध र धाबा हो । यो यस्तो सामूहिक गर्जन हो, जसले कानुन मिचेर गरिएका अविवेकी निर्णय सच्याउन र विकास निर्माणका कार्यलाई गुणस्तरीय र नागरिकमैत्री बनाउन मद्दत गर्छ ।
सूचनाको हकलाई प्रशासन सुधारको औजारका रूपमा प्रयोग गर्न राज्य र व्यक्ति तथा नागरिक दुवै पक्ष उत्तिकै सक्रिय र चलायमान हुन आवश्यक छ । कुनै एक पक्षको सक्रियताले मात्र यो हक पूर्ण कार्यान्वयन हुन सक्दैन । यसलाई अझ गतिशील बनाउँदै यसको प्रभावकारिता देखाउन नागरिक सचेत, सक्षम र चेतनशील हुन आवश्यक छ । तसर्थ, नागरिकको सूचनाको अधिकारलाई सुरक्षित राखि सूचना दिन कञ्जुस्याँई गरिनुहुदैँन ।