सिन्धुलीको कमलामाई नगरपालिकाको मेयरले कार्यालय समय बाहेक अन्य प्रयोजनकालागि नगरपालिकाको गाडी प्रयोग गर्दैनन् । यता, दुधौली नगरपालिकाले भने जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम पोखरामा आयोजना गर्यो । फिक्कल गाउँपालिकाको धेरै क्षेत्र वनजंगलले ओगटेको छ । तर, सोहि गाउँपालिकामा वृक्षारोपण भन्दै खर्च भइरहेको छ । यी तीन घट्नाले सिन्धुलीको स्थानिय तहले खर्चको भिन्नतालाई देखाएको छ । स्थानिय तहका जनप्रतिनिधिले इन्धन खपतमा व्यापक खर्च गरिरहेका छन् । कार्यकर्ता देखि पत्रकारलाई इन्धनको कुपन दिएर स्थानिय सरकारले फजुल खर्च बढाएको छ ।
तर, कमलामाई नगरमा भने मेयरकै लागि भनेर खरिद गरिएको गाडीपनि कार्यालय प्रयोजन बाहेक प्रयोग भएको देखिदैँन । दुधौलीमा सुविधासम्पन्न हल हुदाहुदैँ पोखरामा कार्यक्रम हुनु भनेको सर्वसाधारणबाट उठाइएको राजश्वमा लुट हो । त्यस्तै, फिक्कलामा वृक्षारोपण हुनु भनेको अन्य पुर्वाधारको विकासमा ध्यान नदिई वृक्षारोपणको नाममा फजुल खर्च हो । वृक्षारोपण आवश्यक छ । तर, सो गाउँपालिकामा वृक्षारोपणको पैसाले अन्य पुर्वाधार निर्माण गर्दा उपयुक्त देखिन्छ । तसर्थ, फजुल खर्चलाई नियन्त्रण गर्दै स्थानिय सरकारले नागरिकबाट उठाएको रकम उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक छ ।
सिन्धुलीमा स्थानिय सरकारले फजुल खर्च गरिरहेको भन्दै आलोचना हुने गरेको छ । सिन्धुलीमात्र नभएर देशका ७५३ वटै स्थानिय तहमा अनावश्यक खर्चमा वृद्धि भएको गुनासो आइरहेको छ । संघीयताको सुन्दर पक्ष भनेको गाउँगाउँमा सिंहदरबार पुग्नु हो । तर, अहिले गाउँगाउँमा एक वा सो समुहमात्रै आर्थिक तथा सामाजिक रुपमा बलियो भएका छन् । तसर्थ, नागरिकको सेवाकालागि आएका जनप्रतिनिधिले विलासि जिवनलाई त्यागेर नागरिकको सेवामा समर्पित हुन आवश्यक छ । त्यसैगरि, फजुल खर्च नियन्त्रण गर्दै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न स्थानिय सरकार गम्भिर हुन आवश्यक छ ।