आगामी मंसिर ४ गते एकैसाथ हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको चुनावकालागि नेपाली कांग्रेस डोल्पाले युवा नेतालाई प्राथमिकतामा राख्दै जिल्ला उपसभापति पुर्ण बहादुर शाहीलाई सिफारिश गरेको छ । शाहिको राजनितिमा उदयले जिल्लाको राजनैतिक वृतमा सधै चर्चा पाउने गरेको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य हुदैँ पार्टीको जिल्ला उपसभापति भएका शाहीलाई पार्टीले महत्वपुर्ण जिम्मेवारी दिएर जिल्लामा खटाइरहेको छ ।
श्रेष्ठको उम्मेदवारी चर्चासँगै युवाहरु हौसिएको डोल्पा ३ का रबि ठकुरीले बताउनुभयो । काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाहको उदयसँगै युवाहरुले राजनितिमा स्थान खोजिरहेको ठकुरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौँले बालेनलाई जिताउन सक्छ भने हामीपनि डोल्पामा युवालाई जिताउन सक्छौँ । उहाँले सबै दलले योग्य, सक्षम, क्षमतावान् सहित भिजन र इमानदारिता भएको युवालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमात्र रहेको डोल्पामा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य कर्णबहादुर बुढालाई एकल उम्मेदवार सिफरिस गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रकालागि समानुपातिक तर्फ टंकप्रसाद उपाध्याय, दुधकुमारी हमाल र अर्णबहादुर न्यौपा सिफारिसमा परेका छन् । यसैगरी, प्रदेशसभा ‘क’ क्षेत्रका लागि प्रत्यक्षतर्फ जिल्ला सभापति दिपेन्द्रबहादुर शाहीलाई कांग्रेसले एकलरुपमा उम्मेदवार सिफरिस गरेको छ । समानुपातिकतर्फ आठजनाको नाम सिफारिस गरिएको छ जसमा योगेन्द्रबहादुर शाही, नवराज शाही, श्रीबहादुर शाही, दशरथ रोकाया, सुवर्ण शाही, वेगमसिं ठकुरी, रामकुमारी शाही र जुना रोकाया रहेका छन् । त्यस्तै, प्रदेशसभा ‘ख’ क्षेत्रका लागि प्रत्यक्षतर्फ पूर्णबहादुर शाही र भैवबहादुर शाहीको नाम सिफारिश गरिएको छ । समानुपातिकतर्फ सुरेश बहादुर शाही, विष्णु रोकाया, लक्ष्मी शाही र मतिरुपा रावतलाई सिफारिस गरिएको नेपाली कांग्रेस डोल्पाले जनाएको छ ।