बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बालबालिकाको नाममा कमाउ धन्दा बन्द गर

आइतवार , भाद्र १९, २०७९

सिन्धुलीमा कानुनको विवादमा बालबालिकाहरुको संलग्नता बढ्दो छ । आर्थि वर्ष २०७८/०७९ मा आठजना बालबालिका कानुनि विवादमा परेका छन् । बालविवाह, जबरजस्ती करणि, लागुऔषध ओसारपसार लगायत गैरकानुनि कार्यमा बालबालिकाको संलग्नता बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकले देखाउँछ । मुख्यतः परिवारको संरक्षणमा नरहेका, परिवारको आर्थिक स्थिति कमजोर रहेका र शिक्षाको कमिका कारण यस्ता कार्यमा बालबालिकाहरु मुछिएका छन् ।

बालविवाहले गर्दा पनि बालबालिकाहरु कानुन विपरित कार्यमा संलग्न रहेको विज्ञहरु बताउँछन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु बालविवाह हो जुन कानुनविपरित छ । तर, जिल्लामा बालविवाह गर्ने क्रम रोकिएको छैन । बालविवाह पश्चात् बालिकाको परिवारले प्रहरीमा मुद्धा दर्ता गरेपछि बालकहरु जबरजस्ति करणीको शिर्षकमा कानुनि विवादमा पर्ने गरेको विज्ञहरुको भनाई छ । त्यसैगरि, लागुऔषध ओसारपसारमा समेत बालबालिकाको प्रयोग बढ्दो छ । परिवारको आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरु यस्तो कार्यमा संलग्न भइरहेका छन् । यता, जिल्लामा बालबालिकाको मुद्धालाई उठाएर कमाउ धन्दा गर्ने केहि गैरसरकारी लगायत विभिन्न संघसंस्थाले बालबालिकाको क्षेत्रमा देखिएका समस्याको समाधान गर्न चुकिरहेका छन् ।

सिन्धुलीमा वर्षेनि बालबालिकाको नाम भजाएर लाखौँ दान भित्रिने गर्दछ । विशेषगरि, गैरसकारी संस्थाले बालबालिकाको क्षमता अभिवृद्धि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग पु¥याउने नाममा लाखौँ ‘डोनेसन्’ जिल्लामा ल्याइरहेका छन् । तर, अहिले पनि जिल्लामा बालश्रम, बालविवाह, अशिक्षा लगायत समस्याहरुको न्युनिकरण हुन सकिरहेको छैन ।

जिल्लाका बालबालिकालाई देखाएर ‘डोनेसन्’ भित्राउने र बालबालिकाको नाममा हात्तीको देखाउने दाँत जस्तो एक/दुईवटा अनुत्पादक कार्यक्रम गर्ने गैरसरकारी संस्थाको अनुगमन गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । अतः बालबालिकाको हितमा सरकारी तथा गैरसकारी संस्थाले उतपादनमुलक काम गराउन सरोकारवाला निकायले घच्घचाउन आवश्यक छ ।

प्रतिक्रिया