नेपालमा वर्षेनी लाखौँको संख्यामा पर्यटकहरु आउने गर्दछन् । नेपालको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदालाई हेर्न र त्यसबारे बुझन् पर्यटकहरु नेपाल भित्रिने गर्दछन् । नेपाली सम्पदाको विशेषताहरु थुप्रै छन् । तर, सात वर्षअघिको महाभुकम्पले देशका विभिन्न जिल्लामा रहेका सम्पदाहरुलाई भत्काएको छ । भुकम्पले ती सम्पदाको रुप परिवर्तन गर्दिएको छ । विडम्बना, भत्किएका सम्पदाको पुननिर्माणको काम सन्तोषजनक रुपमाअघि बढन् सकेको छैन । भत्किएका देशका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माणमा सरकारले खासै चासो देखाएको छैन । ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा भएको ढिलाइले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लाको सुन्दरतामा ह्रास आएको छ । त्यसैगरि, धार्मिक, सांस्कृतिक र परम्परागत निरन्तरतामा अप्ठेरो समेत परेको समाचारहरु आएको छ । तसर्थ, यसतर्फ सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।
सम्पदाको महत्व बुझेर समयमा निर्माण गर्न नसकिएमा यसले विश्व सम्पदा सूचीमा सूचीकृत हाम्रा पुरातात्विक सम्पत्ति गुम्नसक्ने खतरा हुन्छ । पुरातात्विक एवम् सांस्कृतिक महत्वका सम्पदाको निर्माणको काम सरकारले थालेपनि सन्तोषजनक छैन । सम्पदाको निर्माण कुनै घर वा पर्खाल निर्माण गरेजस्तो नभएकाले यिनको सांस्कृतिक महत्व बुझ्न पनि आवश्यक छ । ऐतिहासिक सम्पदाको पुरातात्विक र सांस्कृतिक महत्व नगुम्ने गरी तथा पुरानै कलाकारिता र कच्चा पदार्थको प्रयोग गरी निर्माण गरिनुपर्छ । सम्पदाहरुको निर्माण गर्दा तिनको सबै पक्षीय सूचना संरक्षित हुनेगरी सूचना एवम् श्रोत केन्द्र खडा गरी सबै जानकारी राख्नुपर्दछ । त्यसैगरि सम्पदाको निर्माण गर्दा पुरातत्वविद, वास्तुविद लगायतका विज्ञहरुसँग पनि छलफल गरिनुपर्दछ ।
सम्पदाको निर्माणमा स्मारकको वास्तुकला, प्रविधि, धार्मिक र सांस्कृतिक पक्ष तथा जीवन्त संस्कृतिको पनि समावेश हुनुपर्छ । सम्पदाको कुनैपनि महत्व नघट्ने गरी निर्माण गर्न राज्यको सम्बन्धित निकायले बुझ्नुपर्छ ।