बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सेवाग्राहीसँग दुर्व्यवहार नगर

शुक्रवार , श्रावण २७, २०७९

सिन्धुलीमा रहेका सरकारी कार्यालयहरुमा सेवाग्राहीमाथि दुर्व्यवहार बढिरहेको भन्दै गुनासो आइरहेको छ । सेवाग्राहीलाई न्युनतम जानकारी दिनपनि कार्यालयले आनाकानि गरिरहेको सेवाग्राहीले दुखेसो पोखिरहेका छन् । राज्यको सेवा, सुविधा र सेवा, सुविधा उपभोग गरेबापत नागरिकले तिर्नुपर्ने करमै पनि सर्वसाधरणलाई असहज भएको अवस्था छ । सबै नागरिक शिक्षित छैनन् । उनीहरुलाई परामर्शको आवश्यकता छ । तर, सरकारी कार्यालयबाट सर्वसाधरणले परामर्श नपाएको गुनासो बढ्दो छ ।

सरकारी कामको प्रक्रिया बुझ्नैकालागि सर्वसाधरणले विचौलियाको मुख ताक्नु परिरहेको छ । नागरिकले अभिभावकत्व पाउन सकिरहेका छैनन् । सेवाग्राहीहरु सरकारी कार्यालयमा रुमलिनु परेको अवस्था छ । जानकारी लिन खोज्दा उल्टै सेवाग्राहीमाथि कर्मचारीहरु जाई लाग्ने गरेको घटनाहरु पनि सार्वजनिक भइरहेको छ । सबै कर्मचारीले सेवाग्राहिलाई दुख मात्र दिन्छन् भन्ने होइन । तर, राज्यको प्रणालि र प्रक्रिया बुझ्नै सर्वसाधरणलाई कष्ट भइरहेको छ । तसर्थ, सेवाग्राहिलाई कसरी छिटो, छरितो सेवा दिने भन्नेतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

सरकारी कार्यालयले प्रवाह गर्ने सेवाप्रति नागरिक कतिको सन्तुष्ट छन् भनेर जिल्ला प्रशासनले निरन्तर अनुगमन गर्न जरुरी छ । सरकारी अड्डामा सेवाग्राहीले भोग्ने समस्याको पहिचान गरि त्यसलाई सहज र सरल बनाउनतर्फ जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ । अतः जिल्लाका सरकारी कार्यालयहरुप्रति सेवाग्राहीको बढ्दो असन्तुष्टिको सम्बोधन गर्न राज्यको अंगहरु परिचालित हुनुपर्दछ ।

प्रतिक्रिया