२०७७ साल असार २६ गते निर्माण सम्झौता भएको सिन्धुलीमाढी–भिमस्थान–चकमके–उदयपुर–कटारी सडक एक महिनाअघि निर्माण सम्पन्न भइसक्नुपर्ने भएपनि सिन्धुलीको कमलामाई नगरपालिकाको सडकखण्डमा विवाद देखिएको छ । कालोपत्रे सहितको सडक स्तरोन्नति गर्न बागमती प्रदेश सरकारले ७० करोड बढि बजेटमा २०७९ साल साउन २५ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने भनेर हेटौँडाको आशीष–डिएस जेभि संग सम्झौता गरेपनि विवादका कारण सडक निर्माणले पुर्णता पाएको छैन ।
वन तथा वातावरण मन्त्रालयको स्वामित्वमा रहेको जग्गा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको मातहतमा नलल्याई सडक निर्माण गरिएको भन्दै निर्माण कार्य ठप्प भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका अन्तर्गत सिन्धुलीमाढी–भिमस्थान सडकखण्डमा विवाद देखिनुको मुख्य कारणनै लापर्वाही र दुरदर्शिताको अभावको उपज हो । योजना ल्याउनुअघि प्रारम्भिक वातावरण परिक्षण गरिन्छ । वातावरण परिक्षणमा प्रभावित समुदाय र क्षेत्रको विस्तृत रिपोर्ट बनाई ठेक्का कसरी लगाउने भनेर डिपिआर गरिन्छ । तर, हतारको काम लतारमा भने जस्तै वन क्षेत्रनै मासेर विकास निर्माण गर्न निश्चित समूह लागेपछि विवाद उत्कर्षमा पुगेको छ ।
सडक निर्माणकालागि वन क्षेत्रको रुख काटेको आरोपमा केहि मानिस पक्राउ पनि परेका छन् । तर, रुख काट्न निर्देशन दिने हाईप्रोपाईल व्यक्ति भने अहिले पनि बिना पछुतो मस्त घुमिरहेको अवस्था छ । सडक निर्माणमा देखिएको अपरिपक्वताले हाम्रो सरकारी प्रणालिको अवस्थालाई स्पष्ट देखाउँछ । तर, जे जस्तो भएपनि सिन्धुलीको सदरमुकामलाई तिनपाटनसँग जोड्ने सडक निर्माणकालागि तत्काल आवश्यक कदम चाल्न सरोकारवाला निकायले आवाज उठाउन जरुरी छ । चुनावको मुखमा सडक निर्माणको जस लिन पहल नहुने होइन । तर, पहलले मात्रै नभएर कामनै अघि बढाउन तर्फ दबाब दिन आवश्यक छ । त्यसैगरि, उक्त सडकखण्डमा दोषि देखिएका उपर कार्वाही गर्न जिम्मेवार निकायले हात कमाउनुहुदैँन ।