बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीको राजमार्गमा भयावह अवस्था

शुक्रवार , श्रावण २०, २०७९

वर्खायाममा सिन्धुलीमा रहेको विपी राजमार्ग र मदन भण्डारी राजमार्गमा यात्रा गर्न जोखिमपुर्ण छ । मुख्यतः निर्माणाधिन धरान–चतरा राजमार्गमा (मदन भण्डारी) रिटेन्सन वाल नहुँदा भित्ता हेर्दै यात्रा गर्नुपर्ने अवस्था छ । विगत एक सातादेखि परिरहेको पानीले गर्दा राजमार्गका धेरै सडकखण्डमा पहिरो खसेको छ । पहिरोले गर्दा सडकमा माटो र हिलो थुप्रिएको छ ।

त्यस्तै, कमलामाई नगरपालिका देखि मरिण गाउँपालिकाको सडक खण्ड छेऊछाउका माटोको पर्खालमा रहेका रुखहरु लड्ने अवस्थामा छन् । निर्माणाधिन राजमार्गमा दैनिक सयौँ सवारीसाधन आवजतजावत गर्छन् । हालसम्म उक्त राजमार्गमा प्राकृतिक प्रकोपका कारण कुनै पनि अप्रिय घट्ना नभएपनि सावधानि नअपनाए आगामी दिनमा ठूलै दुर्र्घटना नहोला भन्न सकिन्न । तसर्थ, स्थानिय सरकार लगायत सरोकारवाला निकायले ठेकेदार कम्पनिसँग कसरी राजमार्गलाई सुरक्षित बनाउन सकिन्छ भनेर बृहत छलफल गर्न जरुरी छ ।

मदन भण्डारी राजमार्ग जस्तै विपी राजमार्गमा पनि पहिरोको जोखिम बढ्दो छ । विपी राजमार्गको विभिन्न सडकखण्डमा पहिरो खसेको छ । देशको राजधानी लाई तराईका जिल्लासँग जोड्ने विपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन गुड्ने गर्दछ । विगतमा राजमार्गमा ढुंगा खसेर पनि यात्रुको मृत्यु भएको छ । राजमार्गमा वर्खायाममा यात्रा गर्न जोखिम रहेको छ । तसर्थ, पहिरोको जोखिम न्युनिकरण गर्नकालागि जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ । प्राकृतिक प्रकोपलाई रोक्न नसकेपनि त्यस्ले निम्ताउने समस्यालाई कम गर्नतर्फ राज्यको संयन्त्र परिचालित हुनुपर्छ । अतः जिल्लामा रहेका सडकलाई सुरक्षित बनाउन जिम्मेवार निकायले अग्रसरता देखाउन जरुरी छ ।

प्रतिक्रिया