जिल्ला अस्पताल सिन्धुलीको भवन निर्माणाधिन अवस्थामा रहेको हुँदा सेवाग्राहीलाई सेवा लिन कठिन भएको छ । पुरानो भवन भत्काएर नयाँ अस्थायी संरचनाबाट अस्पालले सेवा दिदैँ आएपनि उचित व्यवस्थापन नहुँदा बिरामीले सास्ती व्यहोर्नुपरेको छ । ठाउँको अभावका कारण अस्पतालका मेसिनहरु थन्किएका छन् भने डाक्टरहरुलाई सेवा प्रवाह गर्न समस्या परेको अवस्था छ । मुश्किल समयमा व्यवस्थापकिय पक्ष चुस्त र दुरुस्त बनाउन सकेको भए अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तारिफका पात्र हुनेथिए ।
तर, अस्पतालको भवन भत्किएदेखि व्यवस्थापन पक्ष पनि कमजोर रहदैँ आएको छ । कुनै समय जिल्लाकै नेता बागमती प्रदेशको स्वास्थ्यमन्त्री हुँदा समेत जिल्ला अस्पतालले उपलब्धिमुलक प्राप्ति गर्न सकेन । जे होस्, अब भने निर्माणाधिन अस्पताल समयमै सम्पन्न गराउनकालागि सरोकारवाला निकायले चासो देखाउन जरुरी छ ।
२१ करोड ७० लाख २५ हजार बढि रुपैँयामा निर्माण भइरहेको अस्पाल निर्माणले पुर्णता पाउन अब दुईमहिना बाँकी छ । हनुमान कन्स्ट्रक्सनले २०७६ चैत्र ७ गतेदेखि अस्पताल निर्माणको काम शुरु गरेको थियो भने ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । श्रोतका अनुसार अस्पताल निर्माणकालागि उक्त बजेट अपुग भएको भन्दै निर्माण कार्य लम्बिने भएको छ ।
अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा जिल्लाका सरोकारवाला निकायको ध्यान जान जरुरी छ । अस्पतालको भवन निर्माण सम्पन्न गराउन राजनैतिक दल, निर्माण व्यवसायी लगायत जिम्मेवार निकायले चासो नदेखाउने हो भने समयमै अस्पताल निर्माण नहुने अवस्था छ । तसर्थ, अस्पतालको भौतिक संरचनाको अवस्था बुझेर के कसरी अघि बढ्न सकिन्छ भनेर सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । अतः जिल्ला अस्पतालले समयमै गुणस्तरीय संरचनाबाट सेवा विस्तार गर्ने वातावरण सिर्जना गर्न तर्फ जिम्मेवार निकाय थप सक्रिय हुन जरुरी छ ।