सिन्धुलीमा जबजब हेलिकोप्टर अवतरण गर्छ, तबतब मानिसको भिडले अवस्था असाधरण बनाइदिने गर्दछ । आकस्मिक सेवाकालागि आएका ती हेलिकोप्टरको आसपास पुगेर सेल्फि खिच्नेको भिडनै लाग्ने गर्दछ । बिहिबार सदरमुकाम सिन्धुलीमाढीको खम्बेचौरमा अवतरण गरेको हेलिकोप्टर आसपासपनि सोहि दृश्य देखियो । बिरामी लिन आएको हेलिकोप्टरलाई मानिसको भिडले छेकेपछि बिरामीलाई हेलिकोप्टरसम्म पर्याउन पनि हम्मेहम्मे भएको थियो ।
कोरोना संक्रमितलाई लिन आउँदा समेत बिरामीको छेउछाउ पुगेर सेल्फि खिच्ने भिडले अन्य बिरामीको नजिक पुगेर वा हेलिकोप्टर छेउमा पुगेर सेल्फि वा भिडभाड गर्नु नौलो होइन । तर, स्वयंसेवक र प्रहरीले उक्त भिडभाड नियन्त्रण गर्न नसक्दा बिरामी र बिरामीका आफन्तले सुरक्षाको अनुभुति भने गर्न सकेनन् । स्ट्रेचरमा बिरामी छट्पटाइरहदा हावा छिर्नै नदिई बिरामीलाई छेक्दै हेलिकोप्टरसँग सेल्फि खिच्ने प्रवृद्धिले मानवतामाथि प्रश्न उठाएको छ । तसर्थ, फोटोमोह त्यागेर मानवता देखाउनतर्फ सबै नागरिक सचेत हुन आवश्यक छ । त्यसैगरि, संवेदनशिल अवस्थामा कसरी प्रस्तुत हुने भनेर शैक्षिक संस्थाले बालबालिकालाई सिकाउन जोड दिनुपर्दछ ।
कुनैपनि जिल्लामा हेलिकोप्टर अवतरण गर्दा उक्त हेलिकोप्टर किन र केकालागि आयो भनेर प्रशासनले अभिलेख राख्दछ । बिरामीलाई हेलिकोप्टरबाट कहिकतै लग्नुपरेको अवस्थामा जिल्ला अस्पतालले प्रशासनसँग समन्वय गरेर भिडभाड नियन्त्रण तथा अभिलेखकालागि सहयोग गर्न जरुरी छ । अतः आकस्मिक अवस्थामा के कसरी परिस्थीतिको सामना गर्ने भनेर सम्बन्धित निकायले पुर्वतयारी गरेर अघि बढ्न सके बिहिबार देखिएको जस्तो दृश्य पुनः दोहोरिने छैन ।