सिन्धुलीको निजी तथा सामुदायिक विद्यालयले संचालन गरेको स्कुल बस तथा भ्यानले क्षमता भन्दा बढी विद्यार्थी बोकेको भन्दै अभिभावकले गुनासो गरेका छन् । विद्यार्थी बोक्ने सवारीसाधन तिव्र गतिमा हुईकिने गरेको भन्दै स्थानियले समेत विरोध जनाएका छन् ।
विद्यालयको बस भन्दै ट्राफिक प्रहरीले पनि वास्ता नगरेको पाईएको छ । तर, स्कुले विद्यार्थीहरु बोक्ने गाडीले जोखिम मोलेर क्षमता भन्दा बढि विद्यार्थी बोक्ने, तिव्र गतिमा चल्ने, सहचालक नराख्ने लगायत विद्यार्थीलाई ओरोल्न र चढाउनसमेत सहयोगी परिचालन गरेका छैनन् । स्कुल बस निर्देशिका २०७४ मा विभिन्न नियमहरु उल्लेख गरिएको छ । तर, जिल्लाका विद्यालयहरुले ती नियमको अध्ययन समेत नगरेको सहजै अनुमान लगाउन सकिन्छ । तसर्थ, विद्यालय संचालकले विद्यार्थीहरुको सुरक्षाकालागि जनशक्ति भर्ति देखि क्षमता अनुसार विद्यार्थी बोक्नतर्फ गम्भिर हुन जरुरी छ ।
सिन्धुलीका निजी तथा सामुदायिक विद्यालयले स्कुल बसको व्यवस्था गरेसँगे घण्टौँसम्म हिँड्दै विद्यालय आउनुपर्ने बाध्यता हटेको छ । तर, सुविधाको नाममा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहदै आएको छ । त्यसैले, जिल्लमा रहेका शैक्षिक संस्थाले विद्यार्थी सुरक्षाको सवालमा गम्भिर हुन जरुरी छ । अतः स्कुल बसलाई सुरक्षित बनाउन जिम्मेवार निकाय थप अग्रसर हुन आवश्यक छ ।