बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुली सौगात दैनिक पत्रिका १२ औँ वर्षमा प्रवेश

आइतवार , श्रावण १, २०७९

(प्रकाशकिय) आज हामी १२ वर्ष पुगेका छौँ । २०६८ को श्रावण १ गतेबाट प्रकाशन भएको सिन्धुली सौगातले सिन्धुलीको संचार क्षेत्रमा पाइला टेकेको हिजो जस्तै लाग्छ । १२ वर्षको यात्रामा श्रद्धेय पाठक, सिर्जनशिल पत्रकार, लगनशिल कर्मचारी, विज्ञापनदाता÷एजेन्सीलगायत शुभचिन्तकले दिनुभएको साथ र सहयोगले हामीलाई लामो यात्रा तय गर्न सहज बनाइदिएको छ । सिन्धुलीको बजार सिमित छ । उद्योग तथा कलकारखाना नहुँदा विज्ञापनको खडेरी नहुने कुरै भएन । व्यवसायिक रुपमा दैनिक पत्रिका संचालन गर्न कठिनाई भएपनि पाठकहरुको हौसला र मायाले सिन्धुली सौगात १२ वर्षसम्म पाठकमाझ पुग्न सकेको छ । बेथितिको विरुद्ध आवाज उठाउनु र राम्रो कामलाई प्रोत्साहन गर्नु पत्रकारीताको धर्म हो । सत्य, निष्पक्ष र स्वतन्त्र भएकै कारणले हामीलाई पाठकले विश्वास गर्नुभएको छ । हाम्रो कमजोरी र गल्ति औल्याइदिने र निस्वार्थ पत्रकारिताको धर्म निभाउदा पुर्वाग्राही भएर धावा बोल्ने समूहबाट हामीलाई जोगाउन ढाल बनिदिने पाठकको साथ र सहयोगले हाम्रो अनन्त यात्रा तय गर्नेछ ।

पाठकको माया, विज्ञापनदाताले गरेको विश्वास, हाम्रा पत्रकारहरुको खोज पत्रकारीता लगायत शुभचिन्तकले देखाएको मार्गदर्शनले गर्दा सिन्धुली सौगातले अनलाईन संस्करण पनि ल्याएको छ । पाठकवर्गको साथ र सहयोगले गर्दा सिन्धुली सौगात डट कमबाट विश्वको जुनसुकै कुनामा बसेर सिन्धुलीको समाचारसँग अपडेट हुन सक्ने अनलाईन पोर्टल ल्याउन सकेका छौँ । हामीलाई निरन्तर सल्लाह, सुझाव र हौसला बढाउने सम्पूर्णप्रति हामी आभारी छौँ ।

देश संघीयतामा गएपछि जनप्रतिनिधि र कर्मचारीको संख्या बढेको छ । सत्ता र शक्तिको दुरुपयोग र विकृत कर्मचारीतन्त्रलाई सिन्धुलीबाट टाढा राख्न सिन्धुली सौगातले सधैँव होसियारी गर्ने वचन पाठसामु गर्न चाहान्छु । वडादेखि पालिका र जिल्लासम्म बेथितिको चांग बढेकोले जिल्लावासिसँग समन्वय गरेर सावधान गराउन सिन्धुली सौगात सधैँ तत्पर छ । त्यसैले, कुनै पनि गुनासो वा समस्या हुँदा निर्धक्क र निसंकोच यस मिडियालाई सम्झिन जिल्लावासिलाई आग्रह गर्दछु । अन्तमाः समाजको पहरेदारका रुपमा हाम्रो यात्राले निरन्तरता पाउने विश्वास दिलाउदैँ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामीलाई सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद दिन चाहान्छु ।

विनोद रायमाझी (अध्यक्ष एवं प्रकाशक)

सम्बन्धित विषय:

प्रतिक्रिया