बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

पानीको गुणस्तरीयता मापन गर

मंगलवार , आषाढ २१, २०७९

सिन्धुलीमा संचालित पानी उद्योगको अनुगमन नहुँदा उपभोक्ताहरु त्रसित भएका छन् । झण्डै डेढ सय किलोमिटर टाढा रहेको राजधानी काठमाडौँमा हैजा फैलिएसँगै सिन्धुलीमा पनि स्थानिय त्रसित भएका हुन् । केहि दिनअघि मात्रै ए वान सिन्धुलीगढी कम्पनिको पानीमा किरा भेटिएको थियो । सिलप्याक पानीको बोतलमा किरा देखिएपछि सामाजिक संजालमा भिडियो छ्याप्छ्याप्ती देखिएको थियो । यता, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली, जिल्ला प्रशासन लगायत जिम्मेवार निकाय भने यस्ता सूचनाहरु भाइरल हुँदा पनि कानमा तेल हालेर बसिरहेको स्थानियले गुनासो गरेका छन् । पानीमा पिएच, धमिलोपन, आइरन, आर्सेनिक, क्याडमियम, मर्करी, कोलिफर्म, इकोलाई देखिएपनि जिम्मेवार निकायले कुनै चासो देखाएको छैन ।

बजार अनुगमन पूर्ण रुपमा रोकिएको छ । पानी जस्तो महत्वपूर्ण पेय शुद्ध कहिले हुने ? उपभोक्ताले कहिले शुद्ध पानी पिउन पाउने ? त्यसको जवाफ सम्बन्धित निकायले उपभोक्तालाई दिन जरुरी छ । जिल्लामा बेलाबखत पानी उद्योगमा अनुगमन हुने गर्दछ । तर, सो अनुगमन प्रभावकारी नहुने स्थानियले गुनासो गरेका छन् । जिल्लामा संचालित पानी उद्योगबाट प्रशोधित पानीमा किरा देखिनु, उपभोक्ताहरुले गुनासो गरिरहनु र जिम्मेवार निकाय मौन बस्नु लाचारिपनको हद हो । तसर्थ, पानी उद्योगको अनुगमन गरि उपभोक्तालाई पैसा तिरेबापत शुद्ध पानी पिलाउन जिम्मेवार निकायले महत्वपुर्ण भुमिका खेल्न आवश्यक छ ।

प्रतिक्रिया