सिन्धुलीमा मनसुन सक्रिय हुदैँछ । देशका विभिन्न भागमा मनसुन सक्रिय भइसकेको छ भने केहिमा मनसुन भित्रिदै छ । हरेक वर्ष मनसुनले सिन्धुली लगायत देशका धेरैजसो जिल्लाहरुमा त्रास र पीडा थप्ने गरेको छ । वर्षेनि बाढी र पहिरोले सिन्धुलीमा मानविय तथा भौतिक क्षति पुर्याइरहेको छ । जिल्लाको नौँवटै स्थानिय तहमा पहिरोको जोखिम उत्तिकै छ । बाढीका कारण कमलामाई र दुधौली नगरपालिका, गोलन्जोर, सुनकोशी र मरिण गाउँपालिकामा वर्षेनि मानविय तथा भौतिक क्षति बढिरहेको छ । नौवटै स्थानिय तहले विपद व्यवस्थापनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गरेका छन् ।
तत्कालको लागि भने स्थानिय तहले मनसुनले निम्ताउन सक्ने वितण्डा न्युनिकरण तर्फ ध्यान दिन जरुरी छ । मुख्यतः सिन्धुलीमा रहेका राजमार्गमा क्षति न्युनिकरणलकालागि जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ । विपी राजमार्गमा वर्खायामको समय पहिरोले सडक जाम हुने गरेको छ । राजमार्गको विभिन्न खण्डहरुमा पहिरो खसेका कारण सडक अवरुद्ध हुने गरेको छ । उक्त राजमार्गमा वर्षातको मौसममा हिँड्न समेत जोखिम हुने गरेको छ । तसर्थ, तत्कालै मजबुत रिटेन्सन पर्खाल निर्माण गर्न नसकेपनि पहिरो खसेको अवस्थामा आकस्मिक उद्धार र सडक सरसफाईकालागि आवश्यक सामाग्री तयारी अवस्थामा राख्न जिम्मेवार निकायले गृहकार्य गर्न ढिलाई गर्नुहुदैँन ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको सडक खण्डमा यात्रा गर्न उच्च जोखिम छ । अधिकांश सडक खण्डमा बाटोमात्र बनाइएको छ तर पर्खालमा कुनै पनि सुरक्षाका उपायहरु अवलम्बन गरिएको छैन । तसर्थ, यसतर्फ पनि सम्बन्धित निकायको यथाशिघ्र ध्यान जानुपर्दछ । त्यसैगरि, खहरे खोलाले पनि यो समयमा जोखिम उत्तिकै बढाउने हुँदा आवश्यक उपकरणहरु तयारी अवस्थामा राख्न स्थानिय सरकार, जिल्ला प्रशासन, नेपाली सेना, सुरक्षा निकाय लगायत जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ । अतः मनसुनमा मानविय क्षति हुन नदिनकालागि सम्बन्धित सबै पक्ष प्राकृतिक प्रकोपको सामाना गर्न एक्यबद्ध भएर अघि बढ्नुपर्दछ ।