बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा कृषक पिरोल्नेलाई कार्वाही गर

बुधवार , आषाढ १, २०७९

सिन्धुलीमा कुखुरापालन गरि जिविकोपार्जन गर्दै आएका कृषकहरु खुद्रा व्यापारी र विचौलियाबाट शोषणमा परिरहेका छन् । दुई महिनाको मिहिनेतको अधिकांश फल विक्रेताले हसुरिदिदा कृषक मारमा परेका हुन् । कृषकलाई कुखुरा उत्पादनकालागि उदारोमा दाना र औषधि उपलब्ध गराउने विक्रेताले कुखुरा विक्रि गर्ने समयमा लाभको ठूलो हिस्सा आफैँले लिने गरेको कृषकले गुनासो गरेका छन् । उत्पादित कुखुरा आफैँले विक्रि गर्न नपाउने शर्तसहित विक्रेताले कृषकसँग मौखिक सम्झौता गरेका हुन्छन् । कुखुरा उत्पादन भएपछि बिक्रेताले कृषकको खोरबाटै सिन्धुली र काठमाडौँको कोल्डस्टोरमा पुर्‍याउने गरेका छन् । किसानले आफूले उत्पादन गरेको कुखुराको उचित मूल्यनै नपाएको व्यापक गुनासो गर्दै आएका छन् । अहिले सिन्धुलीमा जिउँदो कुखुराको मूल्य २३० रुपैँया निर्धारण गरिएको छ । तर, कृषकले दुई सयको हाराहारीमा मात्र पैसा पाइरहेका छन् । यता, काटेको मासुको मूल्य भने चार सयसम्म रहेको छ । अन्य जिल्लामा जिउँदो कुखुरा भन्दा काटेको मासुमा प्रति केजि सय रुपैँया बढि मूल्य लिने गरिएको छ । तर, सिन्धुलीमा भने वास्तविक कृषकलाई नै जताबाट पनि मारमा पार्ने काम भइरहेको छ । उदारो दाना दिने विक्रेताले आफैँ कुखुरा लगेर आफूखुशि मूल्य निर्धारण गरि कम मूल्य दिने, गाढी भाडा चलेको मूल्य भन्दा अत्याधिक बढि लिने, चल्लामा बढि मूल्य लिने, दानाको मूल्य अन्य जिल्लामा भन्दा बढि लिएर कृषकलाई मारमा पारेका छन् । यता, कृषकले भने हेरेको हेरै बाहेक अरु केहि गर्न सकिरहेका छैनन् ।

उत्पादित कुखुराको मुल्य कम दिने र चल्लाको मूल्य बढि लिने विक्रेतालाई न त कुनै नियमनकारी निकायले निगरानि गरेको छ न त कुनै निकायले कार्वाही नै । कुखुरा कृषकले यो समस्या झेल्दै आएको वर्षौ वर्ष भइसकेको छ । तर, हालसम्म पनि वास्तविक कृषकले न्याय पाउन सकिरहेका छैनन् । त्यस्तै, कुखुराको मुल्य तोक्ने संघ कहाँ कता छ भन्ने पत्तो छैन । अतः श्रमिक कृषकको समस्याको समाधान गर्न सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया