बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सार्वजनिक शौचालयको व्यवस्थापन गर

आइतवार , जेठ २२, २०७९

सिन्धुलीका विभिन्न स्थानहरुमा निर्माण भएर संचालनमा आएको सार्वजनिक शौचालयको अवस्था बेहाल छ । जिल्लाको कमलामाई नगरपालिका ६ स्थित हाट बजार लाग्ने ठाउँमा रहेको सार्वजनिक शौचालयभित्र छिर्नै नसक्ने अवस्था छ । जथाभावि फोहोर, पानीको अभाव, ढोकाको चुकुल नभएका कारण शौचालयमा बस्नैपनि नसिकने अवस्था रहेको शनिबार हाट बजारमा व्यापार गर्न आएको व्यापारीले गुनासो गरेका छन् ।

यहाँमात्र नभएर अन्य स्थानिय तहमा पनि सार्वजनिक शौचालयको दुर्गति छ । नागरिकमा चेतनाको कमि, जिम्मेवार निकायले व्यवस्थापनमा देखाएको कञ्जुस्याईँ, सार्वजनि सम्पत्तिप्रति नागरिकको हेलचेक्राई लगायत विविध कारणले सार्वजनिक शौचालय दुर्गन्धित बनेको छ । तसर्थ, सार्वजनिक शौचालयको व्यवस्थापनमा जिम्मेवार निकायले चासो देखाउन जरुरी छ । त्यसैगरि, हरेक नागरिकले सार्वजनिक सम्पत्ति आफ्नै हो र यसको संरक्षण आफैँले गर्नुपर्छ भन्ने चेतना बढाउन जरुरी छ ।

सरकारले शौचालय प्रयोग गर्दा साबुनपानीले हात धुनुपर्ने जनचेतनामूलक लोककल्याणकारी विज्ञापन प्रकाशन÷प्रसारण गर्छ । तर, सिन्धुलीका मात्र नभएर अन्य जिल्लाका सार्वजनिक शौचालयमा साबुन त परैको कुरा पानीकै अभाव छ । तसर्थ, जिम्मेवार निकायले सार्वजनिक शौचालयको व्यवस्थापनमा चासो देखाउन जरुरी छ । अतः सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति रहेकोले सबैले संरक्षणमा जोड दिनुपर्दछ ।

प्रतिक्रिया