सिन्धुलीमा तीन सय बढि सामुदायिक विद्यालयहरु छन् । हरेक स्थानिय तहमा संचालित सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति सन्तोषजनक छ । राज्यले सामुदायिक विद्यालयको स्तरोन्नति र गुणस्तरीय शिक्षाकालागि वर्षेनि करोडौँ खर्च गरिरहेको छ । तर, सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक छैन । निजी विद्यालयमा अभिभावक आकर्षित भएका छन् । निजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजना कमजोर छ । संघीयदेखि स्थानिय सरकारले शिक्षा गुणस्तरीयता, भौतिक पुर्वाधार निर्माण लगायत विभिन्न शिर्षकमा विद्यालयकालागि बजेट छुटाएको हुन्छ । तर, सो बजेटबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता र परिक्षा नतिजामा सुधार आउन सकेको छैन । शिक्षकलाई सेवासुविधामा कञ्जुस्याईँ, कमजोर विद्यालय व्यवस्थापन समिति लगायत नियमनकारी निकायको मौनताका कारण समुदाय स्तरका विद्यालय अघि बढ्न सकिरहेको छैन ।
नयाँ शैक्षिक शत्र शुरु भएको एक महिना पुग्न थालिसकेको छ । तर, अहिलेसम्म पनि विद्यार्थीहरुले किताब पाउन सकिरहेका छैनन् । अन्य किताब जसोतसो मिलाएर विद्यार्थीले पढिरहेका छन् । पाठ्यक्रमनै परिवर्तन भएको किताब पढ्न नपाउँदा विद्यार्थीमा बेचैनि थपिएको छ । तसर्थ, सरकारले समुदायिक विद्यालयमा आवश्यक सामाग्रीको उपलब्ध गराउन थप सक्रियता बढाउन जरुरी छ । यतिमात्र नभएर सामुदायिक विद्यालयको निरिक्षण गर्न स्थानिय सरकारपनि गम्भिर हुन आवश्यक छ । आठ कक्षाको परिक्षा स्थानिय सरकारले लिने भएपनि सम्पूर्ण विद्यार्थीलाई उत्तिर्ण गरिएको छ । परिक्षाले विद्यालयको शैक्षिक गुणस्तरीयताको मापन गर्दछ । तर, स्थानिय सरकारले सो विषयलाई नजरअन्दाज गरिरहेको छ । तसर्थ, अधिकांश नवनिर्वाचित जनप्रतिनिधिले शिक्षालाई प्राथमिकता दिने बताइरहदा सामुदायिक विद्यालयका विद्यार्थी अघि बढ्न नसक्नुको कारण पहिचान गरि समाधान तर्फ लाग्नुपर्छ ।