बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका नवनिर्वाचित जनप्रतिनिधि घुम्न निस्किएपछि मतदाता निराश

सोमवार , जेठ १६, २०७९

स्थानिय तह निर्वाचना २०७९ बाट सिन्धुली लगायत देशभरका ७५३ स्थानिय तहमा जनप्रतिनिधि चुनिएका छन् । जिल्लाको पूर्ण चुनावि नतिजा आएकोपनि साता बढि बितिसकेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसकेका छन् । तर, केहि जनप्रतिनिधि भने नागरिकको सेवासुविधालाई एक ठाउँमा राखेर आफूहरु भने भ्रमणमा निस्केका छन् । ‘काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर’ भनेझैँ जनप्रतिनिधिहरु देशदौडाहामा निस्कदा मतदातामा निराशा देखिएको छ ।

मतदाताले निर्वाचित जप्रतिनिधिहरुलाई मनोरञ्जनकालागि पर्यटकिय गन्तव्यमा भन्दा पनि दुखि, पिडित र समस्यामा परेका नागरिकको घरदैलोमा देख्न चाहेका छन् । तर, जिल्लाका केहि निर्वाचित प्रतिनिधिहरु भने नागरिकको सेवामा भन्दा पनि आफैँ रमाउनेमा केन्द्रित हुने डर मतदातामा छ । तसर्थ, नवनिर्वाचित जनप्रतिनिधिले नागरिकको समस्या, आफ्नो क्षेत्रका संभावना, विकास र समृद्धिकालागि समय खर्चिन जरुरी छ । पाँच वर्षको अवधि लामो समय हो । तर, काम गर्नेलाई यहि समयपनि अपर्याप्त हुने देखिन्छ । त्यसैले, जनप्रतिनिधिहरुले मोजमस्ती गर्ने भन्दा पनि मतदाताको मतको कदर गर्दै उनीहरुको दुःखमा साथ दिन जरुरी छ ।

मनोरञ्जनकालागि अरु कुनै समय निकाल्न सकिन्छ । जनप्रतिनिधि रमाउनै नपाउने भन्ने होइन । तर, शुरुवाति दिनमै जनप्रतिनिधिका कारण नागरिक सेवा नपाएर छट्पटिनुपर्ने बाध्यता दुखद हो । तसर्थ, नगरपालिका र गाउँपालिका प्रमुखले आफ्ना क्षेत्रका जनप्रतिनिधिलाई नागरिकको सेवामा खटाउन खबरदारि गर्न आवश्यक छ । त्यसैगरि, जनप्रतिनिधिले पनि मतदाताको अमूल्य मतको कदर गर्दै विकास र समृद्धिकालागि योजना बुन्न तर्फ केन्द्रित हुनुपर्दछ ।

प्रतिक्रिया