पछिल्लो केहि महिना यता सिन्धुलीको ट्राफिक व्यवस्थापन कमजोर बनेको छ । सिन्धुलीमात्र नभएर देशैभर ट्राफिक नियमको व्यापक उल्लंघन भएको छ । स्थानिय तह चुनाव २०७९ मा प्रचारप्रसारका क्रममा हेल्मेटनै नलगाई सवारीसाधन चलाउने देखि क्षमताभन्दा बढि यात्रु ओसारपसार गर्ने क्रम रोकिएको छैन । चुनावको समयमा काठमाडौँबाट जिल्ला भित्रने सवारीसाधनमा क्षमताभन्दा बढि यात्रु कोच्ने र चुनाव सकिएपछि सिन्धुलीबाट काठमाडौँ जाने गाडीमा कोचाकोच यात्रु राखिदा दुर्घटनाको जोखिम बढेको छ । जिल्लामा चुनावको समयमा मानविय क्षति हुने गरि दुर्घटना नभएपनि केहि सडक दुर्घट्नाहरु भए । विपी राजमार्गमा दैनिक जसो हजारौँ सवारीसाधन गुड्ने गर्दछ । राजमार्गमा तिव्र गतिका कारण दुर्घटनामा वृद्धि भएको तथ्यांकले देखाउँछ । तसर्थ, राजमार्गमा निगरानि बढाउन जरुरी छ ।
सिन्धुलीमाढीमा व्यवस्थित पार्किङकालागि तालिका अनुसार एकतर्फ पार्किङको व्यवस्था गरिएतापनि सो नियम कार्यान्वयन हुन सकेको छैन । बजार क्षत्रेमा अव्यवस्थित पार्किङ बढेको छ । त्यस्तै, कमलामाई नगरपालिकाले मालवाहक सवारीसाधन गुड्न नदिने भनेको क्षेत्रमै निर्बाध रुपमा गाडीहरु गुडिरहेका छन् । तसर्थ, जिल्लाको ट्राफिक व्यवस्थापनमा प्रहरीले सक्रियता बढाउन जरुरी छ । त्यसैगरि, प्रहरीलाई आवश्यक सामाग्री उपलब्ध गराउन सरोकारवाला निकायले चासो देखाउनुपर्दछ ।