बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

कार्यालय सहयोगीबाट राजीनामा दिएर वडा अध्यक्षमा लडे अनि जिते

शुक्रवार , जेठ ६, २०७९

दाङ- चन्द्रबहादुर गुरुङ झण्डै पाँच वर्ष राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालय सहयोगी पदमा कार्यरत रहे। २०७४ को स्थानीय तह निर्वाचनमा गोकर्णबहादुर राना मगर वडा अध्यक्षमा निर्वाचित भएपछि उनी कार्यालय सहयोगी पदमा नियुक्त भएर काम थालेका थिए।

कार्यालय सहयोगीको पद राजीनामा दिएर वडा अध्यक्षको निर्वाचनमा होमिएका चन्द्रबहादुर कार्यालय सहयोगी भएर काम गरेको कार्यालयको वडा अध्यक्ष बनेका छन्।

नेकपा एमालेले उनलाई वडा अध्यक्षको उम्मेदवार बनाएको थियो। कार्यालय सहयोगी भएर काम गरेका व्यक्ति सोही कार्यालयको अध्यक्ष भएर सेवा गर्ने अवसर उनलाई प्राप्त भएको हो।

पहिला पनि जनताकाे सेवा गरेकाे र अब झन् वडा अध्यक्ष भइसकेपछि सेवामै समय व्यतित गर्ने चन्द्रबहादुरकाे भनाइ छ।

‘करिब पाँच वर्ष कार्यालय सहयोगी भएर नजिकबाट सेवा गर्ने मौका पाएँ। मलाई पार्टीले टिकट दियो। राजीनामा दिएर म चुनावमा होमिएँ। जनताको अभिमतले आज म वडा अध्यक्षमा निर्वाचित हुन पुगेको छु’, गुरुङले भने, ‘जुन पाँच वर्ष मैले कार्यालय सहयोगी भएर सेवा गरेँ, अब वडा अध्यक्ष भएर जनताको सेवामा समय बिताउने छु।’

कार्यालय सहयोगी पदमा रहदा सबै काम गर्नुपर्‍याे। सरसफाइदेखि झाडु, पोछासम्म। यति मात्र होइन, सिफारिसका काम समेत चन्द्रबहादुरले नजिकबाट सिकेका छन्।

यस सम्बन्धमा उनी भन्छन्, ‘कार्यालय सहयोगी भएर सबै काम गरियो। त्यसमा पनि वडा सचिवसँग नजिक रहेर सिफारिसका काम जान्ने अवसर मिलेको थियो। अहिले म वडा अध्यक्षमा निर्वाचित भएर जनताको सेवा गर्ने अवसर पाएको छु। उत्साहित भएर जनसेवामा समय कटाउँछु।’

वडा अध्यक्षमा उनीजस्तै अन्य व्यक्तिहरू पनि निर्वाचनमा होमिएका थिए। तर, उनले सबैभन्दा धेरै मत प्राप्त गरे। त्यो जनमतले कार्यालय सहयोगीको कुर्सीदेखि वडा अध्यक्षको कुर्सीसम्म पुर्‍याएकाे छ।

नेपाली कांग्रेसका प्रभाकरदेव चौधरीलाई १३४ मतले पछि पार्दै चन्द्रबहादुर वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

चन्द्रबहादुरले ९५० मत प्राप्त गरे। कांग्रेसका वडा अध्यक्ष उम्मेदवार प्रभाकरदेव चौधरीले ८१६, नेकपा माओवादी केन्द्रका रामचन्द्र चौधरीले २०६, नेकपा एकीकृत समाजवादीका विष्णु गुरुङ्गले ९८, मंगोल नेसनल अर्गनाईजेसनका मोतिलाल चौधरीले ७०, राप्रपाका यदुवंशी चौधरीले ६१ मत प्राप्त गरेका छन्।

चन्द्रबहादुर आफू मात्रै निर्वाचित भएनन् उनकाे सिंगो टिम नै निर्वाचित हुन पुग्यो।

सदस्यमा आत्माराम पौडेल, चुमानसिंह खत्री क्षेत्री, महिला सदस्यमा पार्वती सुवेदी, दलित महिला सदस्यमा रञ्जना सुनाम निर्वाचित भएका छन् ।

महिला पुरुष नभनिकन सबैलाई समान अवसर प्रदान गर्ने आफ्नाे प्रमुख ध्येय भएकाे चन्द्रबहादुर बताउँछन्।

‘महिला, बालबालिका, दलित, जेष्ठ नागरिक, आदिवासी जनजाति सबैलाई समान व्यवहार गर्नुपर्ने मुख्य सिकाइ रह्यो। अझ सबैको साझा भएर सेवा दिने प्रयत्न गर्नेछु। सबैलाई समान अवसर प्रदान गर्ने कुरामा मेरो ध्यान जाने छ’, उनले भने।

प्रतिक्रिया