सिन्धुली– आगामी वैशाख ३० गतेको स्थानिय तहको चुनावमा सिन्धुलीको मरिण गाउँपालिका अध्यक्षको उम्मेदवारमा दिनेश शारु मैदानमा हुनुहुन्छ । २७ वर्षिया शारु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट स्वतन्त्र उम्मेदवारको रुपमा चुनावमा होमिदै हुनुहुन्छ । युवा उम्मेदवार शारुले समानता सहितको शान्ति र स्वाधिनता सहितको समृद्धिकालागि पार्टीले आफूलाई मरिणको अध्यक्षका उम्मेदवारमा चयन गरेको बताउनुभयो ।
सिन्धुली सौगातसँगको अन्तरक्रियामा शारुले आफ्नो मुल मुद्धानै मरिणमा भ्रष्टचारीलाई कार्वाही गर्दै भ्रष्टाचार निमिट्यान्न पार्नु रहेको बताउनुभएको छ । उहाँले ७० प्रतिशत मरिणका किसानको जग्गा ओम्नी, जिवन विकास, आदर्श लगायत वित्तिय संस्थामा रहेकाले सो जग्गा फिर्ता गर्न आवश्यक कदम यथासिघ्र चालिने बाउनुभयो ।
नेकपाले शुरुदेखिनै विरोध गर्दै आएको अमेरिकि सहयोग मिलेनियम कर्पोरेशन च्यालेन्ज (एमसिसि) को खारेजी र नागरिकलाई त्यसबारेमा प्रशिक्षित गर्नु आफ्नो अर्को प्रमुख मुद्धा रहेको शारुले जनाउनुभयो । उहाँले भन्नुभयो, ‘संसदिय व्यवस्थाभित्रै रहेर दलाल, पुजिवादि व्यवस्थाको भण्डारफोर गर्दै वेज्ञानिक समाजवाद स्थापित गर्न लाग्नेछु ।’
मरिणमा वर्षभरि काम गरेर छ महिना भोकै बस्नुपर्ने कष्टकर जिवन बिताउने अवस्थाको अन्त्य गर्न आफूले बृहत गृहकार्य गरेको शारुले ठोकुवा गर्नुभयो । ‘श्रमजिवि वर्गलाई न्याय दिलाउन दिनरात खट्नेछु’, उहाँले भन्नुभयो । मरिणको समृद्धिका कुरा गर्दै शारुले सामुदायिक विद्यालयको स्तरोन्नति र शिक्षा गुणस्तरीयतामा आफूले विशेष जोड दिने बताउनुभयो । त्यसैगरि, आफू नेतृत्वमा पुगे गाउँपालिका भित्र जुवा, तास खेल्ने र मदिरा सेवन गरि होहल्ला गर्नेलाई कार्वाहीको दायरामा ल्याउन पालिका स्तरिय संयन्त्र निर्माण गर्ने शारुले बताउनुभयो ।
मरिणमा तस्करी, कालबजारी गरि खरिद गरेको जग्गा पालिकाको मातहतमा ल्याई सुकुम्बासीलाई वितरण गर्न सक्रियतापुर्वक अघि बढ्ने जोश शारुले देखाउनुभएको छ । त्यस्तै, मरिणमा कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेकाले क्षमतावान उम्मेदवारलाई मत दिन शारुले आग्रह गर्नुभयो ।