आजबाट नयाँ वर्षको शुरुवात भएको छ । २०७८ का तितामिठा इतिहासलाई संगाल्दै २०७९ सालको आगमन भएको छ । नयाँ वर्षले नयाँ जोश, उमंग, अठोट, संकल्प र आशको चांग थप्ने गरेको छ । नकारात्मक सोच र विचारलाई तिलाञ्जली दिएर सकारात्मक सोचसहित अघि बढ्न नयाँ वर्षले आशावान बनाउने गरेको छ । वैशाखको आगमनसँगै रुखविरुवाले काँचुली फेरेका छन् । रुखविरुवाले काँचुली फेरेझैँ नयाँ वर्षले सबैको नकारात्मक सोचको काँचुली फेर्ने हौसला मिल्नुपर्छ । २०७८ साल सिन्धुलीकालागि खासै उपलब्धिमुलक हुन सकेन । ‘सिन्धुलीगढी दरबार संग्रहालय’ को उदघाटन बाहेक अन्य आयआर्जन र जिल्लाको प्रबद्र्धनका कार्य २०७८ सालमा हुन सकेन । २०७८ सालमा जिल्लाका नेताहरु केन्द्रिय तहमा प्रभावशालि देखिएपनि उनीहरुले क्षमता देखाउन सकेनन् । जिल्लाका नेताहरुलाई अवसरहरु प्राप्त भएपनि उपयोग गर्न नजान्दा केन्द्रको माया, साथ, सहयोग र आकर्षणले जिल्लालाई लाभान्वित बनाउन सकेन । जनप्रतिनिधिहरुकालागि पनि अघिल्लो वर्ष खास रहयो । पाँच वर्षे कार्यकालको अन्तिम वर्षमा जनप्रतिनिधिहरुले खास भन्दा पनि नासका काम बढि गरे । नव वर्षको शुरुवातसँगै देशले केहि महिनामै नयाँ स्थानिय सरकार पाउदैँछ । नव वर्षले नागरिकलाई क्षमतावान उम्मेदवारलाई साथ र सहयोग गर्ने हौसला मिलोस्, शुभकामना !
नयाँ वर्षले नयाँ आशा पलाएको छ । २०७९ सालमा देशको विकासकालागि सबै नागरिक सचेत हुन जरुरी छ । मतदातामा चुनावि चेत बढ्नुपर्छ । असल कर्मको प्रेरणाको दिवसका रुपमा नयाँ वर्षलाई लिऔँ । आजको दिन, नराम्रा बानीव्यवहार त्यागेर राम्रो बानी अँगाल्ने अठोट गरौँ । देशविदेशमा रहनुहुने सम्पुर्ण देशवासिलाई नयाँ वर्षको शुभकामना !