दोश्रो कार्यकालकालागि आगामी वैशाख ३० गते स्थानिय तह अन्तर्गत वडा देखि महानागरसम्मको चुनाव हुँदै छ । चुनावकालागि निर्वाचन आयोग जुटिसकेको छ । स्थानिय तह देखि केन्द्रीय तहसम्म चुनाव लक्षित कार्यक्रमले तिव्रता पाएको छ । चुनाव आउन अब दुई महिनापनि बाँकि छैन । नागरिकको निश्चित समूहले चुनावमा चासो दिएका छन् भने धेरैले राजनैतिक चेतको अभावका कारण चुनावि प्रक्रिया र महत्वनै बुझ्न सकिरहेका छैनन् । प्रलोभनमा परि वास्तविक उम्मेद्वारलाई भन्दा पनि पुजिपति समुहलाई सहयोग गर्दा सुशासन, निती तथा विकासका काम कछुवा गतिमा दौडिन्छ । तसर्थ, सिन्धुली लगायत देशभर नागरिकको राजनैतिक चेत अभिवृद्धिकालागि सरकारले चेतनामुलक कार्यक्रम संचालनमा ल्याउनतर्फ विचार गर्नुपर्दछ । त्यसैगरि, राजनैतिक दलले पनि संगठन विस्तारलाई भन्दा पनि दक्ष सदस्य निर्माणकालागि प्रशिक्षण कार्यक्रमलाई बढि केन्द्रित हुन आवश्यक छ ।
स्थानिय तहमा कसरी नेतृत्व छानिन्छ, नेतृत्वले कसरी विकास निर्माणका कामहरू गर्छन, टोल टोलमा कसरी विकास हुन्छ, चुनावको महत्व लगायत सम्पुर्ण आवश्यक जानकारी दिन चेतनामुलक कार्यक्रम संचालन हुनुपर्दछ । यसकालागि रेडियो देखि सामाजिक संजालमा प्रचारप्रसार गर्न सम्बन्धित निकायको ध्यान जानुपर्दछ । नागरिकले मत गर्ने नैसर्गिक अधिकार उपभोग गर्न त पाए तर त्यसको महत्व बुझ्न नपाउँदा खल्लोपना देखिएको छ । अतः नागरिकमा राजनैतिक चेत बढाउन सरोकारवाला निकायले सक्रियता देखाउन आवश्यक छ ।