सिन्धुलीमा पछिल्लो केहि दिनयता पेट्रोलियम पदार्थ, खाने तेल लगायत खाद्यान्नको अभाव देखिएको छ । केहि दिनअघि मात्रै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । तर, मुल्यवृद्धि हुनु अघिनै सिन्धुलीका केहि विक्रेताले तेल लुकाएर कृत्रिम अभाव सिर्जना गरेका थिए । मुल्यवृद्धि भएपछि नाफा प्रतिशत बढ्ने हुँदा जिल्लाका केहि पेट्रोल पम्पले उपभोक्तालाई तेल नदिई कृत्रिम अभाव सिर्जना गरेका हुन् ।
पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि हुने हल्ला फैलिएसँगै फेरि जिल्लाका विक्रेताले तेलको अभाव सिर्जना गरेका छन् । तेलको अभाव भएको जिल्लाभर हल्ला फैलिदासम्म जिम्मेवार निकाय मौन बस्दा नागरिकले शंका गरेको अवस्था छ । स्थानिय सरकार, जिल्ला प्रशासन लगायत उपभोक्ताको अधिकार संरक्षण गर्ने संघसंस्थाले कानमा तेल हालेर बस्दा कानुनि राज्यमा कालोबजारी गर्नेहरु खुलेआम उपभोक्तालाई ठगिरहेका छन् । तसर्थ, जिल्लामा यदि कानुन छ भने उपभोक्ताको अधिकारको संरक्षण गर्दै कालोबजारी गर्नेलाई कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ ।
पछिल्लो केहि दिन यता जिल्लामा खाद्यान्नको मूल्यमा एकरुपता छैन । थोक विक्रेताले चर्को मूल्य लिएपछि खुद्रा व्यपारीहरु पनि महंगो मूल्यमा सामान बेच्न बाध्य छन् । तर, बेलाबखतमा हुने बजार अनुगमनमा सानालाई ऐन र ठूलालाई चैन हुने गरेको छ । अतः जिल्लामा खुलेआम कालोबजारी भइरहेको अवस्थामा जिममेवार निकाय मुग्दर्शक नबनि एक्सनमा उत्रन जरुरी छ ।