बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बेवारिसे कुकुरको व्यवस्थापन गर

आइतवार , फाल्गुण २२, २०७८

सिन्धुलीको कमलामाई नगरपालिका लगायत अन्य स्थानिय तहमा छाडा कुकुरको संख्या बढेको छ । सडकमा बस्ने बेवारिसे कुकुरको संख्या बढेसँगै दुर्घट्ना लगायत बाटोमा हिँड्न जोखिम बढेको छ । छाडा कुकुर नियन्त्रणकालागि स्थानिय तहले हालसम्म कुनै पनि अभियान संचालन गरेको छैन । अन्य जिल्लामा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउने देखि बन्ध्याकरण गर्ने कार्यक्रम संचालनमा आएका छन् । त्यस्तै, नियन्त्रणमा लिइएका कुकरलाई बन्ध्याकरण र खोपको अलवा बाँकी रोगको समेत उपचार गर्न जरुरी छ । जिल्लाका मुख्य बजार क्षेत्रमा छाडा कुकुरको संख्या वृद्धि भएसँगै सवारीसाधनमा झम्टिने, बालबालिका तर्साउने लगायतको जोखिम बढेको छ । तसर्थ, स्थानिय तहले पशु कार्यालयसँग समन्वय गरेर बेवारिसे कुकुरको नियन्त्रणमा जोड दिन आवश्यक छ ।

बेवारिसे कुकुरले घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेको स्थानियले बताएका छन् । कुकुरलाई नियन्त्रणमा लिन मुश्किल हुने र नियन्त्रणमा लिन खोज्दा आफुमाथिनै झम्टिने गरेको स्थानियले गुनासो गरेका छन् । तसर्थ, बेवारिसे कुकुरको उचित व्यवस्थापनकालागि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । अन्यथा, रेबिज जस्तो संक्रमणयुक्त भाइरसले समाजमा जोखिम बढाउन सक्छ ।

प्रतिक्रिया