शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको सुनकोशीमा खानेपानी आयोजनाकोलागि सम्झौता

शनिवार , फाल्गुण २१, २०७८

सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिकामा लिफ्ट खानेपानी आयोजनाकालागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना रामेछाप र नांगेडाडा (बृहत पम्पिङ) खानेपानी उपभोक्ता समितिबिच शुक्रबार सम्झौता भएको छ ।

४७ करोड ७९ लाख ६३ हजार ५७० लागतमा निर्माण हुन लागेको उक्त आयोजनाको व्यवस्थापन सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष दिपा बोहारा दाहाल, खानेपानी तथा ढल व्यवस्थापनको तर्फबाट सुधिर कुमार शाह, उपभोक्ता समितिको तर्फबाट सुदिप हायु, वडा नं ५ र ६ का वडाध्यक्षद्वय कृष्णराज दाहाल र लक्ष्मी प्रसाद तिमिल्सीनाले हस्ताक्षर गर्नुभएको छ ।

उक्त आयोजनाको ९० प्रतिशत अर्थात् ४३ करोड एक लाख ६७८ हजार २१३ रुपैँया संघीय सरकारले व्यहोर्नेछ भने बाँकी १० प्रतिशत उपभोक्ता समितिले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । उक्त आयोजनाको टेन्डर छिट्टै प्रकाशित गरि काम शुरु हुने गाउँपालिका अध्यक्ष बोहोराले जानकारी दिनुभयो ।

लिफ्ट खानेपानी सुविधाबाट हजारौँ घरपरिवार लाभान्वित हुने उहाँले जानकारी दिनुभयो । उक्त आयोजना सिन्धुलीबाट निर्वाचित प्रदेश सांसद राजन दाहालको पहलमा अर्थ मन्त्रालयले स्विकृत गरेको थियो ।

प्रतिक्रिया