शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा लोप भए टुकी र दियालो, देखिनै छोडे आरन

शुक्रवार , फाल्गुण २०, २०७८

सिन्धुली– पूर्खाको जीवनशैली र तत्कालीन समयको पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ । जिल्लाका गाउँगाउँमा तीव्रगतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा हराउँदै गएको हो ।

डेढ दशकअघिसम्म जिल्लाका ग्रामीण क्षेत्रमा देखिने आरन पनि पछिल्लो समय विस्थापित भएका छन् । आयातित कृषि आंँैजारको प्रयोग गर्ने चलन सुरु भएपछि परम्परागत कृषि औँजार निर्माण गरिने आरन पेसा हराउँदै गएको गोलन्जोर गाउँपालिका ५ चिसापानीका आइत बहादुर विकले बताउनुभयो । जिल्लाका ग्रामीण क्षेत्रका सबै स्थानमा विद्युत् पुगिनसके पनि भनेको बेलामा मट्टितेल नपाइने र पहिलेजस्तो सल्लाको रुखबाट दियालोसमेत निकाल्न नपाइने भएकाले अध्यारोमा टुकी र दियालो बाल्ने परम्परा लोप हुन लागेका हुन् ।

“गाउँगाउँमा पुगेको विकासका कारण जिल्लाको ग्रामीण क्षेत्रका सर्वसाधारण हिजोआज टुकी र दियालोको साटो उज्यालोका लागि सोलार प्यानल प्रयोग गर्छन” कमलामाई नगरपालिका– ४ का मन कुमारी थापाले भन्नुभयो, “एकपटक सोलार जडान गरेपछि अन्य कुनै खर्च नलाग्ने, आफूलाई चाहिएको समयमा तत्काल बाल्न सकिने र धेरै समयसम्म टिकाउसमेत हुने भएकाले उनीहरुको आकर्षण बढेर गएको हो ।”

पुस्तौंदेखि टुकी र दियालो बालेर गुजारा गर्दै आए पनि पछिल्लो समयमा भएको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको विकासले यी लोप भएको उहाँले बताउनुभयो । ८ हजारदेखि १८ हजार रुपैयाँसम्म पर्ने विभिन्न क्षमताका सोलार प्यानलबाट न्यूनतम ३ देखि अधिकतम १० वटासम्म बत्ती बल्नुका साथै घरमा भएका रेडियो र टेलिभिजनसमेत चलाउन सकिने भएपछि केन्द्रिय प्रशारण लाइनको विद्युत् सेवा नपुगेका सिन्धुलीका दुर्गम गाउँमासमेत टुकी र दियालो छोडेर स्थानीयवासीले सोलार प्रयोग गर्न थालेका मरिण गाउँपालिका–५ का सोम प्रसाद कार्किले बताउनुभयो ।

सोलार जडान गरेपछि राति छोराछोरीलाई पढ्न र आफूलाई टेलिभिजन हेर्नसमेत सजिलो भएको कमलामाई नगरपालिका –१ डाढीका ममता कुमारीले बताउनुभयो । गाउँले वैैकल्पिक ऊर्जातर्फ आकर्षित भएपछि जिल्लाका कतिपय सामुदायिक वन उपभोक्ता समूहले आम्दानीको निश्चित् प्रतिशत रकम उपभोक्ताको घरमा सोलार जडान गर्नका लागि खर्च गर्ने गरेका छन् ।

सिन्धुलीमा हराउँदै गयो आरन पेशा

यसैगरि पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले सिन्धुलीमा आरन पेसा पनि लोप हुँदै गएको छ । विगतमा हँसिया (आसी), कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औँजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको तीन वर्षअघि सो पेसा छोडेर ज्याला मजदूरीका काम गर्न थाल्नुभएका गोलन्जोर गाउँपालिका ५ चिसापानीका आइत बहादुर विक बताउनुभयो ।

अहिलेको परिवेशअनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाले सो पेशालाई छाडदै गएको उहाँको भनाइ छ । “युवा आफ्नो पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन् । दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल भएको छ” उहाँले भन्नुभयो, । गाउँमा म मात्र यो पेसा एक्लै धान्दै आएको थिएँ । दिनरात काम गरे पनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठेको छ, कसैको सहयोग छैन, तालिमका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग नभएकाले पेसा नै परिवर्तन गर्नुपरेको उहाँले बताउनुभयो ।

नयाँ पुस्ताले यस्तो पेसा छाड्दै गएका कारण आरन हराउँदै गएको स्थानीयवासी बखत बहादुर विक बताउनुभयो । चिसापानी कै मंगल बहादुर विक परम्परागत बाली प्रथाबाट परिवार धान्न नसक्ने भएपछि बालीमा काम गर्ने छोडेको उहाँले बताउनुभयो । “पहिले बालीमा काम गर्थेँ । बालीमा काम गर्दा ८ महिना पनि खान पुगेन ।” उहाँले भन्नुभयो, “अहिले पैसामा आरनको काम आइहाल्यो भने चाहिँ गर्छु ।” आरनको काम दिनेहरुले चैतदेखी र साउनेती भनि बैना स्वरुप एक–एक पाथि अन्न अगाडि दिने गर्दछन् । बैना दिनेले परिवारको सदस्य जस्तै मानेर चाडपर्वमा भाग समेत छुट्याउछन् ।

राज्यले अरु पेसा व्यवसायीलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिएको भए जीवन पनि सुधार हुने उहाँको भनाइ थियो । एक पाथी अन्नको भरमा वर्षभरि औँजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उहाँले बताउनुभयो । सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेसामा भने परिवर्तन हुन नसकेको विश्वकर्माको भनाइरहेको छ । आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नुजस्ता कारणले यो पेसा ओझेलमा पर्न थालेको बताइन्छ

प्रतिक्रिया