शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

स्थानीय चुनावका लागि राजनीतिक दल गाउँमा

शनिवार , फाल्गुण १४, २०७८

सिन्धुली– सिन्धुली जिल्लाका प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्ष गर्दै गाउँ पस्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा गरेपछि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र अन्य साना दलले गाउँ प्रवेश अभियान थालेका हुन् ।

दलका नेताले गाउँमा गएर कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लिएर अहिले गाउँ गाउँमा अभियान नै थालिएको नेपाली काँग्रेसका जिल्लासभापति उज्वल बरालले बताउनुभयो ।

“पार्टीलाई जिताउका लागि गाउँगाउँमा कार्यकर्ता भेटघाट, घरदैलो र भेला सुरु गरिसकेका छौँ,’’ उहाँले भन्नुभयो,“पार्टीका यहि १५ गते हुने जिल्ला अधिबेृशन सकिएपछि नेताको कार्यविभाजन गरेर गाउँ गाउँमा नेता तथा कार्यकर्ताको सक्रियता बढाइने छ ।”

जिल्लाका नौवटै स्थानीय तहमा आगामी चुनाव लक्षित कार्यक्रम गर्दै पार्टी प्रवेश तथा कार्यकर्ता भेला र संगठन विस्तारमा लागिएको नेकपा (एमाले)का जिल्लाअध्यक्ष कुमार बहादुर कार्की(रामकुमार)ले बताउनुभयो ।

‘‘चुनाव नजिकिँदै गएको छ । सम्भावित उम्मेदवार छान्न र आगामी चुनावका लागि अहिले हामीले गाउँ गाउँमा अभियान थालेका छौँ,’’ उहाँले भन्नुभयो,“चुनाव आइसक्यो । प्रचारप्रसारलाई तीव्र पारिएको छ ।” माओवादी केन्द्रले अहिले गाउँ गाउँमा गएर वडा तथा टोल भेला गरेर आगामी चुनावका एजेण्डासहित अभियानकै काम अगाडि बढाइएको जिल्ला इन्चार्जलेखनाथ दाहाल(राजन)ले जानकारी दिनुभयो ।

‘‘हामी विगतमा तिन स्थानीय तहमा विजयी भएका थियौँ ।’’ उहाँले भन्नुभयो, “यो पटक थप स्थानीय तहमा विजयी हुने गरी अभियान थालेका छौँ ।” पार्टीलाई मजबुत बनाएर एकीकृत रुपमा अगाडि बढाउनाका साथै अहिले सबै स्थानीय तहमा भेला, गोष्ठी, संगठन विस्तारको अभियान चलाइएको नेकपा (एकीकृत समाजवादी)का जिल्लाअध्यक्ष सुर्य पाख्रिनले बताउनुभयो । ‘‘हामीले संगठन सुदृढीकरण र विस्तारको अभियान थालेका छौँ, ’’ उहाँले भन्नुभयो,“हामी सबै नेता तथा कार्यकर्ता गाउँमा छौँ ।”

जिल्लाका साना दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलले पनि स्थानीय चुनाव लक्षित अभियानमा लागेको बताएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया