शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका नौ स्थानिय तहका सत्र वडा भवन विहिन

शनिवार , फाल्गुण १४, २०७८

सिन्धुली – सिन्धुलीका नौ स्थानिय तहका सत्र वडा भवन अझै भाडाका घरबाट संंचालन भइरहेका छन् । स्थानिय चहको पाँच वर्ष कार्यकाल सकिनै लाग्दा समेत सत्र वडा भवन विहिन छन् । गोलन्जोर गाँउपालिका–१ डुडभञ्ज्याङको वडा कार्यालय विद्यालयबाट चलेको छ । गाँउकै कामदा मावि डुडभञ्ज्याङको एउटा कोठालाई सुरुदेखि नै वडा कार्यालयको रुपमा प्रयोग गर्दै आएको वडा अध्यक्ष मिनबहादुर सुनुवारले सुनाउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयकै कोठामा कार्यकाल बित्न लाग्यो । बैठक बस्नु पर्दा बाहिर चौरमा बस्ने गरेका छौं । बाँकी अरु प्रशासनिक काम भने यही कोठाबाट दुःख सुख चलाउदै आएका छौं । विद्यालयलाई भाडा भने तीर्नु परेको छैन ।

गोलन्जोर गाउँपालिकाकै वडा नं. ७ को कार्यालय पनि स्वास्थ्य चौकी खुर्कोटको भवनबाट चल्दै आएको छ । स्वास्थ्य चौकीको भवनको कोठा धेरै भएकाले त्यसैलाई वडा कार्यालयको रुपमा प्रयोग गर्दै आएको गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै तीनपाटन गाँउपालिका–८ को वडा कार्यालय पनि गाँउकै आयुर्वेद भवनमा छ । वडा नं. ३ र ९ को वडा कार्यालय भने भाडाको घरबाट सञ्चालित छ । तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगर पालिकाका ११ वटा वडा मध्ये २ र ११ मा पहिलेदेखि नै वडा कार्यालय भवन रहेको र बाँकी १, ४, ५, ६, ७, १० नम्बर वडाको नयाँ भवन निर्माण गरिएको बताउनुहुन्छ ।

आफ्नै भवन नहुने वडा कार्यालय जिल्लामा यतिमात्र छैनन् । नौ वटा स्थानीय तहका कुल ७९ वटा वडामध्ये १७ वटा वडा कार्यालय भवनविहिन रहेका छन् । कुनै वडा कार्यालय भाडाका घरमा छन्, कुनै सामुदायिक भवनमा । निर्वाचन भएको पाँच वर्ष बित्न लाग्दासमेत स्थानीय तहले आफ्नै भौतिक संरचना बनाउन नसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

सुविधायुक्त भवनको अभावमा स्थानीय तहको सेवा प्रवाह चुस्त र प्रभावकारी हुन नसकेको मरिण गाँउपालिका–१ का बासिन्दा बिरबहादुर वाईवा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “साघुँरा भवन, कोठाबाट अव्यस्थितरूपमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । सेवाग्राहीमैत्री पूर्वाधार र वातावरण नहुदा समस्या हुने गरेको छ ।”

सम्बन्धित पालिकाका अनुसार कमलामाई नगरपालिकाको १४ वटा वडा मध्ये १, ४, ५, ६, ७, ८ र १३ नं. वडाको आफ्नै भवन छैन । गोलन्जोर गाँउपालिकाको सात वटा वडा मध्ये १ र ७, तीनपाटन गाँउपालिकाको ११ वटा वडामध्ये ३, ८ र ९, सुनकोशी गाँउपालिकाको सात वटा वडा मध्ये ४ नम्बर वडाको र मरिण गाँउपालिकाका सात वटा वडामध्ये १, २, ३ र ५ नं. वडाको आफ्नो भवन छैन । बाँकी दुधौली नगरपालिकाले १४ वटै वडामा एउटै नमूनामा स्थानीय तहको निर्बाचनपछि वडा कार्यालय भवन निर्माण गरेको छ ।

घ्याङलेख, फिक्कल र हरिहरपुरगढी गाँउपालिकाले पनि आफ्ना सबै वडामा पक्कि कार्यालय भवन निर्माण गरेका छन् । सुनकोशी गाँउपालिका अध्यक्ष दिपा बोहोरा उक्त पालिकाका सात वटा मध्ये वडा नं. ४ बाहेक सबै वडाको आफ्नै भवन रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘वडा नं. ४ मा जग्गाको “विवादले दुई पटक गरी ४० लाख रकम छुट्याउदा समेत वडा कार्यालय भवन निर्माण हुन सकेन । सबैलाइ पायक पर्ने ठाँउमा घडेरी खोज्दा जग्गाको विवाद छ ।”

कतिपय वडाले तत्कालीन गाविस भवनलाई वडा कार्यालयका रूपमा प्रयोग गरेका छन् भने कतिपय वडाले जग्गा र स्रोतसाधनको अभावल वडा कार्यालय भवन बनाउन नसकेको जनप्रतिनिधिहरुको भनाई छ । वर्षौँसम्म भाडा तिरेर कार्यालय राख्दा राज्यलाई अतिरिक्त व्ययभार समेत थपिएको बताईएको छ ।

प्रतिक्रिया