सिन्धुली - आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले तयारी थालेको छ ।
निर्वाचन घोषणा भएसँगै मतदाता नामावली संकलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन सिन्धुलीकी निमित्त प्रमुख गीता कुमारी दाहालले जानकारी दिनुभयो । कार्यालय अहिले मतदाता नामावलीको अध्यावधिकमा जुटेको छ । हाल निर्वाचन कार्यालय सिन्धुलीले फागुन २० गते सम्म मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई पुनः मतदाता परिचयपत्र लिन निवेदन दिन आग्रह गरेको छ । कार्यालयले जिल्लाबाट मंसिर ८ गते देखि माघ २४ गते सम्म ११ हजार ८ सय ८२ जनाको नामावली निर्वाचन आयोगमा पठाएको दाहालले बताउनुभयो ।
जम्मा जिल्लाको सरोबरमा २ लाख ९ हजार ३ सय ५४ रहेका छन् । ति मध्ये पुरुष १ लाख ७ हजार ९ सय ४६, महिला १ लाख १ हजार ४ सय ७ र तेस्रो लिङ्गी १ जना रहेको दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार विगत एक वर्षको अवधिमा जिल्लामा झण्डै १४ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
हाल कार्यालयले विवरण सच्याउन, दाबी विरोध गर्न, नामावली हटाउने कामलाई अगाडि बढाएको छ । दावि विरोध काम यहि फागुन १९ गतेबाट २६ गते सम्म हुने दाहालले बताउनुभयो । कुनै पनि मतदाता मतदान कार्यबाट वञ्चित नहुन भन्नका लागि कार्यालयले यो व्यवस्था गर्न लागेको हो ।
दाहालले यसअघि कार्यालयबाट मतदाता परिचयपत्र दिएका तर हाल सो परिचयपत्र हराएको वा नष्ट भएका व्यक्तिले अर्को मतदाता परिचयपत्र दिन सकिने बताउनुभयो । त्यस्ता मतदाताले आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा पेस गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।
सर्वसाधारणको सहजताका लागि प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको थियो । नागरिकता वितरणलगत्तै प्रशासन कार्यालयबाटै मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्थाले सर्वसाधारणलाई सहज भएको थियो । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले आसन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निवार्चनको तयारीलाई तिव्र बनाएको छ ।
यसैबिच, जिल्लाका प्रमुख राजनीतिक दलहरूले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस,नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी लगायतले आ–आफ्ना गतिविधि अगाडि बढाएका हुन् । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर वडा भेलालाई तिव्रता दिरहेको छ । सबै वडा तथा टोलमा कमिटि विस्तारको कामलाई तिव्रता दिएको एमाले सिन्धुलीले जनाएको छ ।
नेपाली काँग्रेस जिल्ला अधिवेशनको तयारीमा लागेको छ । विभिन्न कारणले रोकिएको अधिवेशन यहि फागुन १५ गते गर्ने तयारीमा रहेको काँग्रेस सिन्धुलीले जनाएको छ । नेकपा एकीकृत समाजवादीले पनि निर्वाचन केन्द्रित गरी वडा भेलालाई तीव्रता दिइरहेको छ । जिल्लाका सबै पालिकामा वडा कमिटी गठन गरी सङ्गठन विस्तारको अभियानलाई तीव्रता दिइएको नेकपा एकिकृत समाजवादीका नेताले बताएका छन् ।