बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

राहतलाई चुनावि कार्ड नबनाऔँ

आइतवार , फाल्गुण १, २०७८

सरकारले स्थानिय तहको चुनाव तोकेपछि जनप्रतिनिधि लगायत नेता तथा कार्यकर्ता नागरिकको घरदैलोमा पुग्न थालेका छन् । झण्डै पाँच वर्षको अवधिमा नागरिकको घरदैलोमा नपुगेका केहि जनप्रतिनिधिहरु अहिले राहत र विभिन्न योजनाहरु लिएर गाउँगाउँमा पुगिरहेका छन् । सिन्धुलीमा चुनावलाई लक्षित गरि राहत बाड्दै भोट माग्ने क्रम बढेको छ । वर्षेनि जिल्लाको दुधौली र कमलामाई नगरपालिकामा हात्तीले आतंक मच्चाउने गरेको छ ।

स्थानिय सरकारले हात्ती पिडित परिवारकालागि राहतका कार्यक्रमहरु संचालन त गरेको छ तर दिर्घकालिन समाधानकोलागि भने मजबुत कदम चाल्न नसकेको अवस्था छ । जिल्लामा हात्तीले आतंक मच्चाएको धेरै दिन बितिसकेको छ । पिडित परिवारहरु जाडोमा पाल टांगेर बस्न बाध्य छन् । सरकारले स्थानिय तहको चुनावि मिति घोषणा गरेपछि भने नेता तथा कार्यकर्ता ढिलै भएपनि राहत लिएर गाउँ पसेका छन् ।

दुधौलीमा केहि दिन अघि राज्यको ढुकुटिबाट वितरण गरिएको राहतमा राजनैतिक दलको प्रचारप्रसार गरेपछि व्यापक आलोचना भएको थियो । अहिले फेरिपनि राजनैतिक दलले राहत वितरणलाई चुनावी कार्डका रुपमा प्रयोग गरिरहेका छन् । तसर्थ, राजनैतिक दलको नेतृत्वले आफ्ना नेता तथा कार्यकर्तालाई राजनैतिक संस्कारका बारेमा प्रशिक्षण दिन जरुरी छ । राहतको नाममा दलको प्रचार गरेर पिडामा थप पिडा नथप्न राजनैतिक दल सजग हुनुपर्दछ । त्यसैगरि, स्थानिय सरकारले आगामी दुई महिनाको अवधिमा मतदातालाई गरिएको वाचा पुरा गर्नतर्फ प्रतिबद्ध हुँदाकाम गर्न अग्रसर हुन आवश्यक छ । अतः राहत वितरणलाई स्वार्थरहित बनाउनकालागि सरोकारवाला निकायले सचेत गराउन जोड गर्नुपर्छ ।

प्रतिक्रिया