चालु आर्थिक वर्षमा सिन्धुलीमा हालसम्म १६ जना बालिका बलात्कारको शिकार हुन पुगेका छन् । गत आर्थिक वर्षमा ३४ वटा जवरजस्ती करणीका मुद्धा जिल्ला अदालतमा दर्ता भएको छ । यी तथ्यांकले सिन्धुलीमा बलात्कारको घट्नामा वृद्धि भएको देखिन्छ । चेतनाको कमि, प्रविधिको दुरुपयोग, अभिभावकको हेरचाहमा कमजोरी, शिक्षाको अभाव लगायत थुप्रै कारणले जवरजस्ती करणीका घट्नाहरु बढेको छ ।
बलात्कारका धेरैजसो घटना अव्यवस्थित तथा बाक्लो बस्तीमा हुने गरेको छ । बलात्कार घटनामा पीडकले आर्थिक प्रलोभन दिएर बलात्कार गर्ने गरेको विगतको अनुसन्धानले देखाउँछ । आर्थिक असमानताका कारण बलात्कारको घट्नाहरुमा वृद्धि भएको महिलाको क्षेत्रमा काम गर्दै आएकाहरुले बताउदै आएका छन् । यौन सम्बन्धि उत्सुकताका कारण पनि जबरजस्ती करणी बढ्दै गएको छ ।
महिला–पुरुषबीचको समानतामा बाधक सामाजिक सोच र झांगिदै गएको दण्डहीनताको अन्त्यसँगै कहालीलाग्दो बलात्कार रोक्ने अबको अपरिहार्य शर्त हो– घरपरिवारदेखि विद्यालयसम्म यौन शिक्षा । मानिसको आचरण उसकै वरिपरिको वातावरणले निर्माण गर्छ । व्यक्तिको सोच पनि समाजले बनाउँछ । बलात्कार कम गर्न परिवारले दिने अनौपचारिक ज्ञान र औपचारिक शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैगरि, पिडित पक्षलाई न्याय दिनकालागि राज्यले ढिलासुस्ती गर्नुहुदैँन । पिडित पक्षले आफूलाई परेको पिडा खुलेर बताउन नसक्ने अवस्था छ ।
तसर्थ, पिडित पक्षलाई अल्झाएर न्याय दिन ढिलाई गरिनुहुदैँन । अतः बलात्कार नियन्त्रण गर्न सम्बन्धित सबै निकाय चनाखो हुन आवश्यक छ ।