सिन्धुली –अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीले स्थानीय तहको निर्वाचन समयमा हुनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार अनेम संघ सिन्धुलीले स्थानिय तहको निर्वाचन समयमा हुनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा संवैधानिक व्यवस्थालाई नजरअन्दाज गर्दै संविधान र कानुन विपरित स्थानीय निर्वाचन समयमा नगर्ने षड्यन्त्र भईरहेको जनाईएको छ । ज्ञापनपत्रमा अगाडि भनिएको छ “स्थानीय तहलाई जनप्रतिनिधिविहिन बनाउने कार्यलाई अस्वीकार गर्दै संविधानको पालना गर्न गराउन सरकारको ध्यानाकर्षण गराउँदछौं ।”
संघका जिल्ला सचिव पार्वती भट्टराईले निर्वाचन नगर्ने बदनियतले संविधानको धारा २२५ र स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बाँझिएको भन्ने भनाई भ्रमपूर्ण रहेको बताउनुभयो । उहाँले निर्वाचनबाट जनमत प्राप्त गर्न नसकिने डरले अप्राकृतिक गठबन्धनलाई कृत्रिम रुपमा लव्याउने चलखेल भईरहेको समेत आरोप लगाउनुभयो ।
महिला तथा बालिकामाथि भएका बलात्कार लगायत अन्य यौनजन्य हिंसा अन्त्यका लागि तत्काल पीडकहरुलाई कारवाही गर्न संघले माग गरेको छ । बढ्दो महँगीका कारण दैनिक जीवनस्तर चलाउन गाह्रो भएकले अतिआवश्यक वस्तुहरुको मूल्य घटाउन ज्ञापनपत्रमा जोडदार माग गरिएको छ ।