सिन्धुली, – सिन्धुली जिल्लामा कोरोना भाईरस बिरुद्धको खोप लगाउनेको चाप बढेको छ ।
सरकारले सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरेपछि १८ बर्ष उमेर समूह माथिका पहिलो र दोस्रो मात्रा लगाउनेको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा उक्त खोपको पहिलो मात्रा लगाएर दोस्रो नलगाउने पनि उल्लेख्य सङख्यामा थिए । सन्तान नहुने, रोग प्रतिरोधात्मक क्षमता घट्ने भ्रममा परेर सदरमुकाममै समेत खोप नलगाउनेहरु यतिखेर भने सिन्धुली अस्पतालको मुल गेटमा आएर धमाधम खोप लगाउदैछन् ।
बुस्टर डोज खोप समेत आइसकेकाले भ्रम हट्दै गएपछि खोप लगाउन छुटेकाहरुमा ताती लागेको कार्यालयका सूचना अधिकारी सुर्य घिमिरेले जानकारी दिनुभयो । सिन्धुली अस्पतालको मुलगेटमा स्वास्थ्कर्मीको टोलीले महिला र पुरुषको छुट्टाछुट्टै लाइन बनाएर पहिलो र दोस्रो मात्रा खोप लगाई रहेको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘सिन्धुली अस्पतालको गेटमा हेरक शुक्रबार जोनसोन एण्ड जोनसोन र अरु दिनमा भेरोसेल तथा कोभिशिल्डको पहिलो र दोस्रो मात्रा लगाउने कार्य भई रहेको छ । अन्य पालिकामा पनि नियमित रुपमा भेरोसेल र कोभिशिल्डको पहिलो र दोस्रो मात्रा लगाउने कार्य भई रहेको छ ।’
त्यसो त सिन्धुली जिल्लामा शुक्रबारसम्म नौ वटै स्थानीय तहमा गरी कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङख्या एक लाख १३ हजार ८९२ पुगेको छ । जिल्लामा विभिन्न चरणमा सञ्चालन भएको खोप अभियानमा ती व्यक्तिले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अझै १८ वर्ष माथिका ३० हजार भन्दा बढिले खोप लगाउन बाकी रहेको स्वास्थ्य कार्यालयको आकलन छ । जिल्लामा कोरोना भाईरस बिरुद्धको अग्रपङक्तिमा खटिने तेस्रो मात्रा बुष्टर डोज खोप एक हजार ६७९ जनाले लगाएका छन् । ती मध्ये कोभिशिल्ड बुस्टर डोज एक हजार २८९ जनाले र भेरोसेल बुस्टर डोज ३९० जनाले लगाएको कार्यालयको कोभिड–१९ जनस्वास्थ्य अधिकृत कृतिषा थिङले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म कोरोना भाईरस सङक्रमण पुष्टि हुनेको सङख्या तीन हजार ५४७ पुगेको छ । ती मध्ये तीन हजार २१९ जनालाई निको भएको छ भने ४५ जनाले ज्यान गुमाइ सकेका छन् । अहिले सङक्रमित ११६ जना महिला र १६७ जना पुरुष गरी २८३ जना बिरामी होमआईसोलेसनमा बसेर उपचार गरि रहेको उहाँले सुनाउनुभयो ।