शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा रोकिएन अबैध गाँजा खेती

बुधवार , माघ १२, २०७८

सिन्धुली – सिन्धुलीमा बर्षेनी गाँजा खेती मौलाउदै गएको छ । प्हरीले गाँजा खेती गर्न नियन्त्रण गर्ने उदेश्यले बर्षेनी गाँजा फडानी गर्दै आएको भएपनि सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रमा बर्षेनी गाँजा खेती हुदै आएको छ ।

गत मंसिर २० मा प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका .वडा नं ७ स्थित अधेंरी र भुताहमा गरि पाँच­पाँच कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरेको थियो । अबैध रुपमा लगाएको लागु औषध हरियो गाँजाको बोटलाई काटेर सोहि स्थानमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । “खेतबारीमा व्यवसायीक रुपमा लगाइएको गाँजाको हरियो बोटलाई काटेर सोही स्थानमा नष्ट गरेका हौँ, अवैध रुपमा लगाएका गाँजा हामीले थाहा पाए सम्म नष्ट गरिरहेका छौँ ,” उहाँले भन्नुभयो ।

प्रहरीले हरिहरपुरगढी गाँउपालिकाकै कानसिर र दमारमा दुई कठ्ठा क्षेत्रफलमा लगाएको २५ सय बढी बोट गाँजा नष्ट गरेको छ । प्रहरीले बर्षेनी गाँजा खेती नष्ट गरेको तथ्यांक सार्वजानिक गरेपनि त्यस क्षेत्रमा गाँजा खेती रोकिएको छैन । तस्करहरुले लुकीछिपी गाँजा खेती गर्ने र तराईका विभिन्न जिल्ला हुदै गाँजा भारत निर्यात गर्ने गरेका छन् । हरिहरपुरगढी गाँउपालिका भित्र बढी गाँजा खेती हुदै आएको स्थानिय स्वयम् बताउछन् । प्रहरीले पाकेर तयारी हुने समयमा मात्रै गाँजा फडानी गर्ने गरेकाले खेती गर्ने तस्करहरुले खेती गर्न छाडेका छैनन् । प्रहरीले गाँजाको विरुवामै नष्ट गर्नुपर्ने स्थानिय बताउछन् । गाजाँ खेती गरेको सुचना पाएसम्म नष्ट गरेका डिएसपी लामाको भनाइ छ । मरिण गाँउपालिकाको गर्दुवामा अबैध रुपमा लगाइएको तीन कठ्ठा क्षेत्रफलको गाँजा खेती नष्ट गरिएको छ ।

प्रहरीले विगतका बर्षमा समेत यस क्षेत्रमा अबैध रुपमा विघौ विगाहामा लगाइएको गाँजा खेती नष्ट गर्दै आएको भएपनि त्यस क्षेत्रमा गाँजा खेती न्युनिकरण हुन सकेको छैन । गाँजा खेती फडानी गरेपनि खेती गर्नेलाई भने कारवाही भएको पाइएको छैन । “खेत गर्ने किसान भएपनि गाँजाका तस्कर भएपनि कारवाही हुनुपर्छ, अनि मात्रै अबैध गाँजा खेती रोक्न सकिएला” एक स्थानियले भन्नुभयो । जिल्ला प्रहरी कार्यालयका नायव उपरिक्षक लामाका अनुसार नम्बरी भन्दा ऐलानी जग्गामा बढी गाँजा खेती हुदै आएको पाइएको छ ।

प्रतिक्रिया