सिन्धुलीमा निजि तथा सरकारी इन्टरनेट प्रदायक कम्पनिको सुस्त इन्टरनेट सेवाका कारण उपभोक्ताहरु हैरान भएका छन् । निजि प्रदायक कम्पनिको सुस्त इन्टरनेट सेवाबाट आजित भएका उपभोक्ताले नेपाल दुरसंचार प्राधिकरणको इन्टरनेट जोडेर तिव्र गतिको इन्टरनेट सेवा पाउने अपेक्षा गरेपनि ‘जुन जोगि आएपनि कानै चिरेको’ भनेझैँ भएको छ । निजि इन्टरनेट प्रदायकले इन्टरनेट सेवाको नाममा उपभोक्ताबाट चर्को शुल्क लिएर गुणस्तरहिन सेवा दिदैँ आएका छन् ।
उपभोक्तालाई नजरअन्दाज गर्दै इन्टरनेट प्रदायकले मर्मत र व्यवस्थापनकालागि पनि खासै समय नदिएको अवस्था छ । यता, सरकारको स्वामित्वमा रहेको प्राधिकरणको सेवा पनि उस्तै छ । इन्टरनेटको गति निकै सुस्त हुँदा समेत प्राधिकरणले चासो नदिएको अवस्था छ । जिल्लामा इन्टरनेटको हरिबिजोग हुँदा जिल्ला प्रशासन मौन हुनु भनेको नागरिकको आवश्यकता र समस्यालाई नगरअन्दाज गर्नुनै हो । तसर्थ, जिल्ला प्रशासन लगायत सम्बन्धित निकायले जिल्लाको इन्टरनेट प्रदायकसँग अनलाईन छलफल गरेरै भएपनि सुस्त इन्टरनेट समस्याको समाधान खोज्न जरुरी छ ।
कोभिड १९ को तेश्रो भेरियन्टका कारण फेरिपनि शैक्षिक संस्था लगायत नजि तथ सरकारी कार्यालयहरु बन्द भएका छन् । अनलाईनकै माध्यमबाट काम गर्नुपर्ने हुँदा तिव्र गतिको इन्टरनेट अत्यावश्यक हुनेहुँदा इन्टरनेट प्रदायकले सेवा गुणस्तरीयतामा विशेष जोड दिन आवश्यक छ । सिन्धुलीमा इन्टरनेटको समस्या अहिलेको होइन । विगत धेरै वर्षदेखि इन्टरनेट प्रदायकले मनलाग्दीनै गरेका छन् । जिल्लावासिले गुणस्तरहिन भएपनि सेवा त पाएका छन् तर इन्टरनेट प्रदायकको यो हदको गैरजिम्मेवारीमाथि जिम्मेवार निकायले प्रश्न उठाउनै पर्छ । अतः जिल्लामा इन्टरनेटको हरिबिजोग देखिरहदा पनि सम्बन्धित निकायले कानमा तेल हालेर बस्नुहुदैँन ।