सिन्धुलीमा पछिल्लो एक सातामा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हरेक दिन कोरोना संक्रमितको संख्या बढिरहदा जनजिवन कष्टकर बन्दै गउको छ । विशेषगरि, जिल्ला अस्पतालमा चिकित्सकनै संक्रमणको शिकार हुँदा बिरामीहरुलाई उपचारको लागि सास्ती भएको छ । कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा जोखिम व्यापक बढेको छ । तर, स्वास्थ्य क्षेत्रमै ज्यानको जोखिम मोलेर काम गर्ने चिकित्सक तथा कर्मचारीलाई सरकारले दिने भनेको जोखिम भत्ता अहिले सम्म दिएको छैन । मुश्किल समयमा बिरामीलाई सेवा दिईरहेका जिल्ला अस्पताल सिन्धुलीका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन जनप्रतिनिधि, प्रशासन लगायत सम्बन्धित निकायले ताकेता गर्न आवश्यक छ । त्यसैगरि, जोखिम भत्तानै उपलब्ध गराउन कञ्जुस्याई गर्ने सरकार नागरिकको सुरक्षामा कतिको जिम्मेवार छ भन्ने स्पष्ट देखिएको छ । तसर्थ, महामारिको यो अवस्थामा सरकारले आफ्नो तरिकाले काम अघि बढाएपनि नागरिकहरु एकअर्कोलाई सहयोग गर्न जुट्नुपर्दछ ।
सिन्धुलीमा स्थानिय सरकार लगायत संघसंस्थाले सहयोगका कार्यक्रमहरु संचालन नगरेका होइनन् । तर, प्रभावित नागरिकसम्म पुगेर उनीहरुले महामारिको समयमा झेल्नुपरेको समस्या समाधान गर्नतर्फ संघसंस्था, स्थानिय सरकार लगायत सर्वसाधरण जुट्न आवश्यक छ । जिल्लामा सिटामोल औषधि अभाव हुन नदिन रिलिफ नेपालले अस्पाल लगायत स्थानिय तहलाई सहयोग गरिरहेको छ । यस्तै, अन्य संघसंस्थाले पनि अभावका सामाग्रीहरु वितरण गर्दै नागरिकको सुरक्षामा चासो देखाएको अवस्था छ । तसर्थ, महामारीको यो समयमा मानवताको नाताले सकेजतिको सहयोग गर्न सबै जुट्न आवश्यक छ ।