बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

रोजगारीको अवसर सिर्जना गर

आइतवार , माघ ९, २०७८

वैदेशिक रोजगारीकालागि देश छोड्नेमा सिन्धुलीबाट विदेशिनेको तथ्यांक नेपालभर शिर्ष सूचिमा पर्दछ । वैदेशिक रोजगारीकालागि भन्दै ठूलो संख्यामा महिलाहरुपनि सिन्धुली छोड्न बाध्य छन् । स्थानिय सरकार आएको झण्डै पाँच वर्ष हुन लाग्दा यो तथ्यांकमा गिरावट हुन सकेको छैन । तीनै तहका सरकारले रोजगारीको अवसर सिर्जना गर्ने भन्दै विभिन्न कार्यक्रम संचालन गरेपनि सोचे अनुरुपको बेरोजगारी घटेको छैन । जिल्लाको विकासको आधार भनेकै सडक लगायत भौतिक संरचना मात्रै हो भन्ने जनप्रतिनिधिको सोच छ । गाउँगाउँमा सडक पुगेपनि रोजगारीको अवसर सिर्जना हुन सकेको छैन । कलकारखाना स्थापनाकालागि कुनै पनि स्थानिय तहले प्राथमिकता दिएका छैनन् ।

स्थानिय उत्पादनको नाममा लाखौँ बजेट खर्च भएपनि उपलब्धिमुलक प्रतिफल आउन सकिरहेको छैन । कोभिडको समयमा विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरि जिल्लामै रोजगारीको अवसरकाकालागि योजना बनाएपनि जिल्लाबाट विदेशिनेको संख्या घट्न सकेको छैन । त्यसैगरि, जिल्लामा बेरोजगारीको संख्या बढिरहेको छ । जिल्लामा कलकारखाना स्थापना नगर्ने हो भने बेरोजगारीको समस्या हटाउन मुश्किल पर्ने देखिन्छ । तसर्थ, जिल्लामै रोजगारीको अवसर सिर्जना गर्न स्थानिय उत्पादनको प्रयोग र बजारीकरणलाई बढावा दिन स्थानिय लगायत तीनै सरकारले अग्रसरता देखाउन जरुरी छ ।

प्रतिक्रिया