शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली अस्पतालका स्वस्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

शनिवार , माघ ८, २०७८

सिन्धुली – सिन्धुली अस्पताल सिन्धुलीमा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन सकेका छैनन् । गत बैशाखमा सरकारले निर्णय गरेको जोखिम भत्ता सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीले हाल सम्म नपाएका हुन् । अस्पतालमा कोभिड १९ को विरामीको उपचार हुदै आएको छ । यो समयमा अस्पतालमा नियमित बिरामीको चाप बढी छ । सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार दुइ महिनाको मात्र स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छन् ।

सरकारले वैशाखबाट ६ महिनाका लागि तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेपनि सिन्धुली अस्पताललाई हाल सम्म जोखिम भत्ता पठाएको छैन । सरकारले भत्ता नपठाए पनि दुइ महिनाको जोखिम भत्ता स्वास्थ्यकर्मीलाई अस्पताल आफैले वितरण गरेको छ ।

अस्पतालले आफैले ४० लाख जोखिम भत्ता स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको अध्यक्ष पोखरेलले बताउनुभयो । उक्त रकम हाल सम्म सरकारले निकासा नगरेको उहाँले जानकारी दिनुभयो । सरकारले भत्ता पठाएमा वितरण गर्ने उहाँ बताउनुहुन्छ । “दुइ महिनाको जोखिम भत्ता हामीले नै व्यवस्थापन गरेर वितरण गरेका थिर्यौ, त्यो रकम सरकारले अहिले सम्म निकासा गरेको छैन । सरकारले भत्ता पठाए त वितरण गर्ने थियौँ ,” उहाँले भन्नुभयो ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पतालले दुइ महिनाको जोखिम भत्ता उपलब्ध गराए पनि हाल सम्म सरकारले निकासा नगरेको उहाँको भनाई छ । अस्पतालले नर्सिङ कार्यक्रममा कार्यरत कर्मचारी बाहेक सबैलाई जोखिम भत्ता तलबको ५० प्रतिशत दिएको थियो । उहाँले भन्नुभयो, “जोखिममा काम गर्नेलाई सुविधा दिनुपर्छ । निकासाका लागि अनुरोध गरेका छौं ।” विकास समितिले रकम थप गर्न परे तयार रहेको भन्दै उहाँले जोखिममा काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

अस्पतालमा रहेका कर्मचारीलाई मासिक ४५ लाख बराबर तलब खर्च हुने गर्दछ । त्यसको आधा जोखिम भत्ता दिने गरिएको छ । अब फेरि संक्रमण बढेकाले पहिले काम गर्नेलाई भत्ता बाढ्न पाएमा काम लगाउन सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन डा उमेश प्रधानले बताउनुभयो । सरकार र निजीमा सङ्क्रमणमा काम गर्ने चिकित्सक कर्मचारीलाई जोखिम भत्ता दिन नसक्दा काममा लगाउन अप्ठयारो हुने प्रधानले बताएका छन् । अस्पतालसँगै स्वास्थ्य केन्द्रमा पनि संक्रमणमा काम गर्न चिकित्सक स्वास्थ्यकर्मी बाध्य छन् । पालिकाले पनि संक्रमणमा काम गर्नेलाई भत्ता दिने गरेका छन् ।

प्रतिक्रिया