सिन्धुली–कमलामाई नगरपालिका १४ रानिबासका स्थानिय जंगली हात्तिको आक्रमणबाट बच्न रातभर जाग्राम बस्ने गरेका छन् । पाँच दिन अगाडि रानिबासमा आएको हात्तिले घर भत्काउने र अन्नबाली नोक्सानी गर्न थालेपछि स्थानिय हात्तीबाट बाली जोगाउन र आफ्नो ज्यान बचाउन राति जाग्राम बस्न थालेका हुन् ।
हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेको स्थानिय सरिता माझीले बताउनुभयो । “हात्तिले मेरो घर पनि भत्काएका छ । बस्नै नहुने गरि हात्तिले घर भत्काएपछि कहाँ बस्ने भन्ने चिन्ताले सताउँछ । दिउँसो हात्ति जंगल तिर जान्छ, बस्तीमा आउँदैन । रातपरेपछि बस्तिमा पसेर घरभत्काउने, घरभित्रका अन्न साथै लगाएको बाली पनि खान्छ ,” उहाँले भन्नुभयो ।

जंगली हात्तीबाट ज्यान जोगाउन कठिन हुँदै गएको स्थानीय थोम बहादुर खत्रीले गुनासो गर्नुभयो । “सुत्न पाएका छैनौंँ, बालीको संरक्षण गर्न धौ धौ परेको छ,” उहाँले भन्नुभयो, “बिहान पढ्न गएका छोराछोरीलाई हात्तीले बाटौमै मार्छ कि भन्ने पीर छ । कम्तीमा वन र स्थानीय तहले ठाउँठाउँमा गस्ती मात्रै गरेको भए पनि राहत हुने थियो ।” गाउँमा हात्ती पसेको थाहा पाएपछि घरघरमा आगो बाल्ने र थाल ठटाउँदै भगवानको नाम जपेर बस्नुबाहेक अर्को विकल्प नभएको स्थानिय रमेश पोखरेलले बताउनुभयो । डिभिजन बन कार्यालय साथै स्थानिय तहले वेवास्ता गरेको स्थानियले गुनासो गरेका छन् ।

“हात्तिले सबै घर र अन्नबाली नोक्सानी गरिहेको छ । हात्तिलाई भगाउन र नोक्सानी हुनबाट रोक्न बन लगाएत स्थानिय सरकारले सहयोग गर्नुपर्ने हो तर केहि सहयोग गरेका छैनन् । भोलिको दिनमा यहाँ हात्तिले मानवीय क्षेती नगर्ला भन्न सकिन्न ,” एक स्थानियले भन्नुभयो । जंगली हात्तीका कारण रातमा पनि सुत्न नसकिएको र दिनमा पनि ढुक्क हुन नसकेको स्थानियले गुनासो गरेका छन् । स्थानियका अनुसार हात्तिले रानिबासको लगभग ५० भन्दा बढी घर भत्काएको छ भने ५ विगाह जमिनको गहुँ, २ विगाह जमिनको आलु लगाएत घरमा भण्डार गरि राखेको अन्न क्षेती गरेको छ ।
करिब एक महिना अगाडि कोशि टप्पु बन्य जन्तु आरक्षणबाट आएका तीन वटा जंगली हात्तिले दुधौली नगरपालिकाको माभिल्लो पत्रिंगा, हर्षाही, निमाने लगाएतका क्षेत्रको सयौँ घर साथै अन्नबाली नोक्सानी गरेको थियो । हाल रानिबास क्षेत्रमा त्यहि तीन वटा हात्तिले दुःख दिन थालेको डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख थिर बहादुर कार्कीले बताउनुभयो । उहाँले हात्ती आफ्नै सुरमा हिंडेको भन्दै हात्तीलाई नजिस्काउन, नचलाउन र सतर्क रहन नागरिकलाई आग्रह समेत गर्नुभयो ।