सिन्धुलीको कमलामाई नगरपालिकामा बुधबार देखि आज (शुक्रबार) सम्म कोरोनाविरुद्धको तेश्रो खोप लगाइदै छ । जिल्लाका अन्य स्थानिय तहमा भने आजदेखि दुईदिनसम्म बुस्टर खोप लगाइने भएको छ । ‘बुस्टर’ खोप अंग्रपक्तिमा खटिरहेका व्यक्तिहरुलाई मात्र सरकारले उपलब्ध गराइरहेको छ । तर, कमलामाईमा भने लक्षित समूहले नै खोप लगाउन इन्कार गरेका छन् । खोपको बारेमा नकारात्मक प्रचारप्रसार हुँदा केहि लक्षित समूहले बुस्टर खोप लगाएका छैनन् । विगतमा पनि कोरोनाविरुद्धको शुरुवाति खोप लगाउदा अन्य स्वास्थ्य समस्या देखिने भन्दै अफवाह फैलाइएको थियो । अफवाहले गर्दा उक्त खोप हालसम्म पनि केहिले लगाएका छैनन् ।
विश्व स्वास्थ्य संगठनले नै कोरोनाविरुद्धको खोप लगाएमा कोरोनाको संभावित जोखिम कम हुने बताइसकेको छ । तेश्रो भेरियन्ट ‘ओमिक्रोन’ ले कोरोनाविरुद्धको कुनै खोप नलगाएकाहरुलाई बढि प्रभावित पार्ने र बुस्टर खोप प्रभावकारी भएको सन्देशमूलक जानकारीहरु प्रचारप्रसार गरिरहेको छ । तर, जिल्लाका जिम्मेवार निकाय भने अफवाह चिर्नकालागि कानमा तेल हालेर बसिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानिय सरकार लगायत सरोकारवाला निकायले प्रचारप्रसारमा कञ्जुस्याईँ गर्दा निःशूल्क पाईने कोरोनाविरद्धको खोप लगाउन नागरिक त्रसित बनेको अवस्था छ । तसर्थ, संचारमाध्यमको प्रयोग गरेर हुन्छ वा पाम्पलेट देखि माइकिङ गरेर नागरिकमा कोरोनाविरुद्धको खोपको प्रभावकारीताका बारेमा प्रचारप्रसार गर्न सम्बन्धित निकाय अग्रसर हुनुपर्दछ ।
कोरोनाविरुद्धको खोपलाई विश्वले स्विकारीसकेको छ । तर, नेपालमा भने अफवाह फैलिदा नागरिकहरु उक्त खोप लगाउन डराइरहेका छन् । कोरोनाविरुद्धको खोप लगाएमा महिलाहरुमा बाझोपन हुने, चक्कर लाग्ने लगायत अनावश्यक प्रचारप्रसार गरिएको छ । ती अफवाहरुलाई नस्विकारी खोप लगाउन नागरिकलाई आकर्षित गर्न सम्बन्धित निकायले जोड दिनुपर्छ । अतः कोरोनाविरुद्धको खोपको बारेमा चेतना फैलाउन सम्बन्धित सबै पक्ष गम्भिर हुन आवश्यक छ ।